Logo

चार अर्ब बिदेसिने ठेक्का बन्द गर्न माग



काठमाडौं, माघ १९। यातायात व्यवसायीहरूले सवारीसाधनको नम्बर प्लेट परिवर्तनका नाममा नेपालीको गोपनियतामा नै असर पर्ने र देशको अर्बौं रकम बिदेसिने गरी काम नगर्न सरकारलाई सचेत गराएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायात र पर्यटन सवारीसाधनको नम्बर प्लेट परिवर्तन गर्न देशमा कुनै उपकरण पूर्वाधारको विकास नगरी नेपाली राष्ट्रिय भाषा र देशको स्वाभिमान, नेपालीको गोपनियता र देशको ४ अर्ब ४५ करोड रकम बिदेसिने गरी ठेक्कामा जबर्जस्ती व्यवसायीहरूलाई आर्थिक भार थोपर्ने कार्य रोक्न माग गरेका छन् ।

व्यसायीहरूले लाइसेन्स नै खारेज हुने व्यवस्थाका साथै अधिकतम् रूपमा लिइने जरिमानासमेत फिर्ता लिन पनि माग गरेका छन् ।

व्यवसायीहरूले सवारी दुर्घटनाबाट घाइतेको औषधि उपचारमा निजी अस्पतालहरूले अत्यन्तै चर्को मनलाग्दी शुल्क लिने गरेको भन्दै प्राथमिक उपचारबाहेक सरकारी अस्पतालमै उपचार हुने अनिवार्य व्यवस्था गर्न पनि माग गरेका छन् । उनीहरूले औषधि उपचार र क्षतिपूर्तिका लागि बीमा रकम बढाउन पनि माग गरेका छन् ।

व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालनमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न र राजस्व छुट तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पनि माग गरेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्