Logo

सत्ता साझेदार दलबीच गृहमन्त्री नियुक्तिबारे मतभेद



काठमाडौं, माघ १९ । सर्वोच्च अदालतको आदेशपश्चात् गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच मतभेद देखिएको छ। नेकपा (एमाले)ले गैरसांसदका रूपमा लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताएको छ।

गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच समझदारी बनाउन उच्चस्तरीय भेटवार्ता बढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मात्रै चार जना नेतासँग छलफल गरे। गृहमन्त्रीलाई लिएर विवाद बढ्न थालेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित गरेर सत्ता साझेदार दलका प्रमुख दुई नेतासँग छलफल गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा सरकार सञ्चालन, न्यूनतम साझा कार्यक्रम र गृह मन्त्रालयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

यसअघि बुधबार बिहान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको छलफललगत्तै प्रधानमन्त्री प्रचण्डले ओलीसँग भेटवार्ता गरेका थिए। लिङ्देन र ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग बालुवाटारमा छलफल गरेका थिए।

नेपाली नागरिकता पुनः प्राप्त गरेपछि नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पुनः गृह मन्त्रालयमै फर्कन दबाब दिइरहेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्