Logo

क्यान अध्यक्ष चन्दलाई प्रश्न– नाबालिका बलात्कार मुद्दामा सफाइ नपाउँदै सन्दीपलाई बन्द प्रशिक्षणमा किन राख्नुभयो ?



काठमाडौं, २० माघ । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान अदालतको आदेश मान्न तयार भएको बताएका छन् ।
‘हामीले सन्दीपलाई क्लोज क्याम्प छाडेकाले निलम्बन गरेका हौं । सम्मानित अदालतले धरौटीमा छाडेको र निलम्बन अवधि चार महिनाभन्दा बढी भइसकेकाले माघ १७ को बैठकबाट फुकुवा गरेका हौं । बन्द प्रशिक्षणमा राख्ने नराख्ने, राष्ट्रिय टिममा पर्ने नपर्ने कुरा राष्ट्रिय समिति र प्रशिक्षकको क्षेत्राधिकार हो । तर अदालतले बन्द प्रशिक्षणमा नराख, नखेला भनेको छैन । अदालतबाट त्यस्तो आदेश आयो भने हामी पालना गर्न तयार नै छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चन्दले भने ।
उनले मिडिया र सडकमा आफ्नो राजीनामा मागिएको आरोप पनि लगाए । उनले भने, ‘मेरो राजीनामा माग्नु व्यक्तिगत कुरा भयो । क्यान कार्यसमितिका १५ जनामध्ये पाँच जनाले मागेको भन्ने छ । राजीनामा माग्ने थलो साधारण सभा हो । बहुमतले भन्यो भने म क्यानमा बस्नु जरुरी छ । तर मिडिया र सडकमा बोल्नुको तुक छैन ।’
आफ्नो कार्यअवधि थोरै समयमात्र बाँकी रहेकाले राजीनामा नदिने चन्दले स्पष्ट पारे । उनले भने, ‘अर्ली इलेक्सन गरेर योग्य मानिसलाई जिम्मेवारी दिने इच्छा हुँदाहुँदै पनि अनावश्यक विवाद भइरहेको छ । नेपाली क्रिकेटको हित चाहनेले यस्तो काम गर्दैनन् । अब मेरो कार्यकाल नै थोरै छ । आरोप लगाएर मात्र होइन, त्यसको पुष्टि पनि हुनुपर्‍यो । क्यानले आईसीसी अवार्ड पाएको छ, मलाई लङ सर्भिस अवार्ड दिएको छ । तर हाम्रा साथीहरुलाई चुनाव लागिसक्यो । कृपया क्यानलाई बदनाम नगरिदिनोस् ।’

 



प्रतिक्रिया दिनुहोस्