Logo

गृह मन्त्रालयमा रविको दाबी स्वाभाविक होः एमाले नेता



काठमाडौं, २० माघ । नेकपा एमालेका नेता खेमप्रसाद लोहनीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असहयोग नगरेको दाबी गरेका छन् ।
‘हाम्रा अध्यक्षबाट सरकारलाई अप्ठ्यारो पार्ने काम भएको छैन । उहाँले त सरकारलाई सजिलो बनाउने काम मात्र गर्नुभएको छ । सत्ता साझेदार भएका कारण नेताहरुबीच सरसल्लाह हुनु स्वाभाविक हो । उहाँले पहिले जुन सहमति भएर सरकार बनेको हो, त्यही सहमति अनुसार अघि बढौं भन्नुभएको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले भने ।
गृह मन्त्रालयमा कसलाई पठाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिकार भएको उनले बताए । लोहनीले थपे, ‘गृह मन्त्रालयमा रवि (लामिछाने) जीहरुको दाबी गर्नु ठीकै हो । कसलाई मन्त्री बनाउने भन्ने रास्वपाको कुरा हो । पार्टीले रविलाई नै बनाउनुपर्‍यो भने उहाँलाई नै बनाउनुपर्छ । कसलाई गृहमन्त्री बनाउने हामीले भन्ने कुरा होइन, हामीले त सल्लाह दिने मात्र हो ।’
रवि लामिछानेको नागरिकता विवाद अब नरहेको उनको जिकिर छ । अहिले सरकारको विकल्प खोज्ने बेला नभएको पनि उनले बताए ।
नयाँ राष्ट्रपतिमा माओवादी केन्द्रले एमालेलाई साथ दिने दाबी पनि लोहनीले गरे । उनले भने, ‘राष्ट्रपति निर्वाचनमा एमाले र माओवादी एक भएर जान्छन् । माओवादीले साथ नदिने बाहिरको अड्कलबाजी मात्र हो । पहिलेको सहमति अनुसार नै राष्ट्रपति निर्वाचित हुन्छन् ।’



प्रतिक्रिया दिनुहोस्