Logo

प्रचण्डलाई विश्वासको मत दिएको दिनदेखि नै ओलीजीलाई ज्वरो आइसकेको छः कांग्रेस नेता



काठमाडौं, २० माघ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफ्नो पार्टीलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन् ।
‘हामीले शान्ति र संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि प्रचण्डजीलाई विश्वासको मत दिएका हौं । तर त्यही दिनदेखि (केपी शर्मा) ओलीजीलाई ज्वरो आइसकेको छ । कांग्रेसले ढोक्सा थापेको, जाल थापेको भनिरहनुभएको छ । हामीले सरकारमा कुनै सेयर मागेका छैनौं । कांग्रेसलाई सत्तामा जाने कुनै हतारो छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
नागरिकता र राहदानी विवाद छिनोफानो नभईकन रवि लामिछानेलाई गृह मन्त्रालय सुम्पिनु हुने पनि उनले औंल्याए । भट्टराईले भने, ‘रविजी नागरिकता कागजको खोस्टो रहेछ भन्ने दुनियाँलाई थाहा भैसक्यो । तर ओलीजी नागरिकता मुद्दामा अदालतको पूर्णपाठ नआईकन निजी स्वार्थका लागि रविलाई नै गृहमन्त्री बनाउनुपर्छ भनेर लागिरहनुभएको छ । तर रविका बारेमा उठेका सबै प्रश्न अदालतमार्फत छिनोफानो हुनुपर्छ भन्ने कांग्रेसको मान्यता छ ।’
वर्तमान सात दलीय गठबन्धन धेरै दिन नटिक्ने पनि भट्टराईले ठोकुवा गरे । उनले भने, ‘संसदमा हेर्दा सत्तारुढभित्रै प्रतिपक्षको भूमिका निर्वाह भइरहेको छ । राप्रपा संविधानविरुद्ध नै लागिरहेको छ । ऊ पुनरुत्थानवादी तत्व हो । स्वतन्त्र पार्टी विवादित व्यक्तिलाई गृहमन्त्री बनाउनु पर्छ भनेर लागिरहेको छ । यस्तो गठबन्धन कसरी टिक्छ ?’
कांग्रेस नेता भट्टराईले आगामी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल उपयुक्त उम्मेदवार भएको पनि औंल्याए । उनले भने, ‘राष्ट्रपतिमा कुनै पार्टीको पपेट होइन, देश, जनता र लोकतन्त्रप्रति समर्पित व्यक्ति चाहिन्छ । हाम्रो पार्टीले निर्णय नगरे पनि राष्ट्रिय सहमति गर्न सकिने पात्र रामचन्द्र पौडेल नै हो । १५ वर्ष जेल बसेको, गठबन्धनको नेतृत्व गरेको, प्रचार संयन्त्रको संयोजक भएको, परिपक्व र जिम्मेवारी पूरा गर्न सुहाउने व्यक्ति उहाँ नै हो । तर यसका लागि माओवादी नै दह्रो रुपमा उभिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्