Logo

लामिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि आज सुनुवाई हुँदै



काठमाडौं, माघ २०। नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लामिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेश अनुसार २० लाख धरौटी बुझाएर गत पुस २९ गते छुटेका थिए । त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमा आज सुनुवाइको पेसी तोकिएको हो ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग गरेको छ । नेपालको कानूनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारबाही गर्नुपर्ने व्यवस्था छ ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश यस्तो, कानुन र सर्वोच्च अदालतको नजिरको समेत विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पेस गरेका प्रमाण, प्रचलित कानून र अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेसम्बन्धी आफ्नै नजिरहरूका आधारमा सर्वोच्चले लामिछानेलाई थुनामै पठाउने सम्भावना बाँकी नै छ ।

सर्वोच्चमा तोकिएको पेसीमा सुनुवाइको समेत प्रतिक्षा नगरी नेपाल क्रिकेट संघ क्यानले भने लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्