Logo

राष्ट्रपतिका लागि अन्तिम क्षणसम्म हाम्रो प्रयत्न राष्ट्रिय सहमति हो– दीनानाथ शर्मा (भिडियोसहित)



काठमाडौं, २० माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति चयनमा राखेको राष्ट्रिय सहमतिको प्रस्ताव राष्ट्रको हितमा रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान र लोकतन्त्रको रक्षा र समृद्धिका लागि राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका हुन् ।

‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सम्पूर्ण राजनीतिक दलहरुलाई अब राष्ट्र निर्माणका लागि, संविधानको रक्षाका लागि, समृद्धिका लागि र सुशासनका लागि हामी सबै राजनीतिक दल एक ठाउँमा आउने वातावरण मिल्यो । राष्ट्रिय सहमतिका लागि सम्र्पूण नेपालका राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प छैन,’ उनले भने ।  उनले भने ।

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रिय सहमतिको बाटोमा आउने परिपक्वता देखाएको उनको दाबी छ । नेकपा(एमाले)सँग भएको पुष १० को सहमति भन्दा अहिलेको परिस्थिति फरक भएको भन्दै उनले अब राष्ट्रिय सहमतिको विकल्प नभएको बताए । एमालेले सरकारलाई समर्थन गरेपछि प्रधानमन्त्रीलाई बन्देज गर्ने, काममा अगाडि बढ्न नदिने लगायतका काम हुँदै आएको उनको आरोप छ । एमाले अध्यक्ष ओलीको व्यक्तिगत स्वभव र राजनीति सहज नभएको उनको टिप्पणी छ ।

‘सहमति तोड्ने काम उहाँ (केपी शर्मा ओली) ले सुरुदेखि नै गर्दै आउनुभयो । सरकारलाई समर्थन दिएपछि प्रधानमन्त्रीलाई कुनै प्रकारको धम्की, बन्देज गर्ने, काममा अगाडि बढ्न नदिने यस्ता अभियक्तिहरु सार्वजनिक रुपमा आएका छन् । उहाँको राजनीतिक रुपमा र व्यक्तिगत स्वभवको कारण पनि सहज हो भन्ने हामीले ठानेका छैनौं,’ उनले भने ।

साथै अहिलेको सत्ता गठबन्धन टुटोस् भन्ने माओवादीको चाहना नभएपनि गठबन्धन टुटाउँदा राजनीतिक फाइदा हुन्छ कि भनेर चलखेल सुरु भएको उनले बताए । यसरी स्वार्थको आधारमा चलखेल गर्नु राजनीतिक स्थायित्वका लागि राम्रो नहुने उनको दाबी छ । एमालेसँगको नयाँ गठबन्धन बन्दै गर्दा राजनीतिक स्थायित्व, विकास, समृद्धि लगायतको एजेण्डाका आधारमा सहमति भएपनि अध्यक्ष ओली आफैंले संसद केही पनि होइन, यसलाई विघटन गरेर मध्यावधिमा जान सकिन्छ भन्ने जस्ता अभिव्यक्ति दिनुले सबैलाई थप सशंकित बनाएको उनको अर्को आरोप छ ।

‘संसद विघटन गर्न सकिन्छ । संसद केही पनि होइन । संसदको अस्तित्वलाई जतिबेला पनि खान सकिन्छ । हामी यही पाँच वर्षको कार्यकालभित्र मध्यावधिमा जान पनि सकिन्छ भनेर राजनीतिक अस्थिरतालाई निम्त्याउने प्रकारका सार्वजनिक रुपमा अभिव्यक्ति आयो त्यसले सम्पूर्ण राजनीतिक दललाई सशंकित बनाएको छ । त्यसकारण प्रधानमन्त्रीले सबै राजनीतिक दललाई संगै लिएर अगाडि बढ्नुपर्छ भन्नु सकारात्मक बाटो होइन र ?’ उनले प्रश्न गरे । राष्ट्रपतिको निर्वाचनमा दलमा मात्रै केन्द्रीत नभएर संविधान र राष्ट्रपति बफादार मान्छे हेर्नुपर्ने उनको अडान छ । त्यसमा एमालेले चयन गरेको उम्मेदवारमा कांग्रेस सहमत भएमा माओवादीलाई कुनै आपत्ति नहुने उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्