Logo

क्यानका अध्यक्षलाई विश्वप्रकाशको प्रश्न– ‘खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’



काठमाडौं, २० माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग फोन संवाद गरेका छन् । फोन संवादमा उनीहरुबीच क्रिकेटको पछिल्लो गतिविधिका बारेमा कुराकानी भएको शर्माले खुलासा गरेका छन् । चन्द कांग्रेस बैतडीका सभापतिसमेत हुन् । उनीहरुबीचको फोन संवादका बारेमा महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– (क्यान) अध्यक्षलाई फोनमा शोधें– खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’

नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएपछि शर्माले क्यानका अध्यक्षको ध्यानाकर्षण गराएका हुन् । लामिछानेलाई गत पुष २८ मा उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । सन्दीपलाई नाबालिका बलात्कारको आरोप लागेसँगै उनलाई क्यानले निलम्बन गरेको थियो । धरौटीमा रिहा भएका लामिछानेलाई क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन बोलाएसँगै आलोचना सुरु भएको हो ।

क्यानको पोखरामा बसेको बैठकले उनीमाथिको निल्मबन फुकुवा गरेको थियो। फुकुवा लगत्तै क्यानले बन्द प्रशिक्षणमा उनको नामपनि राखे‍को थियो। आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि लामिछाने प्रशिक्षणमा फर्केका हुन्।

 



प्रतिक्रिया दिनुहोस्