Logo

पत्रकारिता राज्य र नागरिकबीच सहकार्यको सेतु हो– खिलराज रेग्मी



काठमाडौं, २० माघ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सत्य, तथ्य र स्पष्ट समाचार सम्प्रेषण गर्नु पत्रकारिताको धर्म भएको बताएका छन् । न्यूज लाइन्स नेपालको सातौं वार्षिक उत्सवमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकारले पेशागत दायित्वलाई ख्याल गर्दै समाज सुधार र विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताएका हुन् ।

‘स्पष्ट सम्प्रेष गर्नु पत्रकारिताको धर्म र कर्म हो । प्रजातान्त्रिक समाजमा स्वतन्त्र र सक्षम पत्रकारिताको महत्व उच्चतम् रहेको कुरामा दुइमत छैन । समाज परिवर्तनमा सुधार, विकृति र विसंगतिमा सशक्त आवाज एवं आवाज विहीनको आवाज बन्दै सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिकाको अपेक्षा गरिन्छ’, उनले भने ।

पत्रकारिता राज्य र नागरिकबीचको सहकार्यको सेतु भएको उनको भनाइ छ । राज्यको चौंथो अंगका रुपमा रहेको पत्रकारिता स्वच्छ, मर्यादित, विश्वसनीय हुनुपर्ने उनको जोड छ । ‘राज्य र नागरिककाबीच सहकार्यको सेतुका रुपमा काम गर्ने हुनाले पनि पत्रकारितालाई राज्यको चौथौ अंगका रुपमा मानिएको छ । यसै भएर नै सञ्चारको हकलाई नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । सत्य, तथ्य पत्रकारित गर्नु पर्ने, स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्ने, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने लगायतका कर्तव्य र दायित्व पत्रकार आचार संहिताले तोकेको छ,’ उनले भने ।

सम्पादकहरु समाजका बौद्धिक वर्ग भएको उल्लेख गर्दै उनले यस्तो वर्गको सम्पादनमा आउने समाचारमा अन्य नियमनकारी निकायले औंला ठड्याउन पर्ने परिस्थिति आउन नहुने बताए । ‘सम्पादकीय स्वतन्त्रतालेसमेत नागरिक दायित्वको भार बोकेका सम्पादकहरु छानिएको बौद्धिक वर्गमा पर्दछन् । यस्तो वर्गको सम्पादनमा आउने समाचार बारे अन्य नियमनकारी निकायले औंला ठड्याइ नियमन गर्नु भन्दापनि स्वनियमनले नै पत्रकारिताको स्वतन्त्रता र मर्यादाको रक्षा हुन्छ भन्ने मलाई लाग्दछ,’ रेग्मीले भने ।



प्रतिक्रिया दिनुहोस्