Logo

देश भ्रष्टाचारको महामारीले असफलतातिर उन्मुख छ : केसी



काठमाडौं, २० माघ । देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको नेपाली कांग्रेसका नेता तथा सांसद्‍ अर्जुननरसिंह केसीले बताएका छन्। न्यूज लाइन्स नेपालको सातौं वार्षिकोत्सवमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको बताएका हुन्।

केसीले भने, ‘अहिले देश स्वेदेशी र बिदेशी ऋणको भारीमा थिचिएको छ भने अर्कोतिर भ्रष्टाचारको महामारीले असफलतातिर उन्मुख भएको परिस्थिति हो। देशको आर्थिक अवस्था झन् झन जटिल हुँदै गएको छ।’ भन्दै थपे ‘श्रीलंकापछि पाकिस्तानहुँदै नेपाल तिर उन्मुख हुने हो की भन्नेपनि देखिएको छ। यो स्थितिमा पत्रकार साथीहरुले गहिरो अध्ययन, अनुसन्धान, विश्लेषण र समिक्षा गरेर देशका नीति निर्णायकहरुलाई घचघच्याउने अहिलेको राष्ट्रिय दायित्व हो।’

देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमती निर्माण गर्नपनि उनले जोडदिँदै भने, ‘हिजो विश्वपरिवेशमा रुस चीनको विरोधमा उभिएको थियो। अहिले चीन र रुस एकातिर उभिएको परिस्थिति छ र दुईटा विशाल छिमेकीहरुको बीचमा हाम्रो भूगोल अवस्थित छ। यो खालको अन्तर्राष्ट्रिय परिवेशमा अहिले राष्ट्रियरुपबाट को सरकार र सत्तामा जानेभन्दा पनि विदेश नीति र राष्ट्रिय सुरक्षाको नीति सम्बन्धमा हामी एउटा राष्ट्रिय सहमतिको स्थिति निर्माण गर्ने कोषिस गरौं।’



प्रतिक्रिया दिनुहोस्