Logo

कांग्रेसको राष्ट्रपति भए प्रचण्डलाई काम गर्न सजिलो हुन्छः श्रेष्ठ



काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले नेकपा एमालेलाई एक्ल्याउने पार्टीको रणनीति नभएको बताएका छन् । तर उनले कांग्रेसलाई राष्ट्रपति बनाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न सजिलो हुने दाबी गरे ।
‘कांग्रेसको अहिलेको रणनीति एमालेलाई एक्लाउने भन्दा पनि संविधानको मूल मर्म गणतन्त्र, संघीयता र धर्मनिपरेक्षता बचाउने हो । राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिए प्रधानमन्त्री प्रचण्डलाई काम गर्न गाह्रो हुन्छ । कांग्रेसको राष्ट्रपति भए सरकार चलाउन सजिलो हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
कांग्रेस नेता श्रेष्ठले देशका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी मिल्नुपर्ने पनि औंल्याए । उनले भने, ‘शान्तिप्रक्रिया टुंगो लगाउन बाँकी छ । संविधान कार्यान्वयन गर्न बाँकी छ । कानुन बनाउन बाँकी छ । अर्थतन्त्र संकटमा छ । तेस्रो पार्टीले सरकार र दोस्रो पार्टीले संसदको नेतृत्व गरेपछि सबैभन्दा ठूलो पार्टी कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो । यो हामीले भन्दा पनि एमालेले सोच्नुपर्ने कुरा हो । राष्ट्रपति नेपाली कांग्रेसको वा उसले समर्थन गरेको व्यक्ति भयो भने सहकार्य गर्न सजिलो हुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले परिवर्तनका उपलब्धि र संविधानमाथि चुनौती दिइरहेको आरोप पनि श्रेष्ठले लगाए । उनले भने, ‘केपी ओलीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई विवश बनाउन खोज्नुभएको छ । सांसद नै नभएको व्यक्तिलाई गृहमन्त्री नबनाई नहुने बाध्यता के छ ? यसको तात्पर्य के हो ?’ नागरिकता र राहदानीमा सफाई नपाईकन रवि गृहमन्त्री बन्नै नसक्ने उनले स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्