Logo

राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न हुँदैन– प्रकाशचन्द्र लोहनी



काठमाडौं, २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाको एजेण्डा आलङ्कारिक राजतन्त्र भएकाले सबैप्रति सम्मान भाव राख्दै अहिलेको राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने बताएका हुन् । ‘यो देशमा आलङ्कारिक राजसंस्था नेपालका लागि उपयुक्त हुन्छ भन्ने दृष्ट्रिकोण हाम्रो पार्टीको छ । त्यो परिवेशमा सबैप्रति सम्मान भाव राख्दै राप्रपाले यसमा (राष्ट्रपतिको निर्वाचनमा) भाग लिँदैनौं भन्नुपर्छ । हामी पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्छौं,’ उनले भने ।

साथै,राप्रपा जनताको काम गरेर देखाउनका लागि सरकारमा गएको उनको दाबी छ । आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुमा केही गर्छुभन्ने हुटहुटी रहेको उनले बताए । राप्रपाबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा बोलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्पष्टीकरण सोध्ने बताएका थिए । यसमा राप्रपाका मन्त्रीलाई क्याविनेट बाहिर पार्टीको कार्यक्रममा आफ्नो भावना राख्ने छुट रहेको लोहनीको दाबी छ । मन्त्री राजनीतिज्ञ पनि रहेको बताउँदै उनले आफ्नो पार्टीको भावना अभिव्यक्त गर्न रोक्ने अधिकार कसैलाई नभएको उनको तर्क छ । ‘क्याविनेट भित्र गएर विरोध गरेको छैन । क्याविनेट बाहिर पार्टीको कार्यक्रममा गएर उसले आफ्नो भावना बोल्छ भने त्यसलाई रोक्ने नेपालको कानुन छैन । मन्त्री राजनीतिज्ञ पनि हो । पोलिटिकल फोरममा गएर मेरो यो विचार छ भन्ने अधिकार उसलाई छ,’ उनले भने ।

धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य नेपालको पहिचान हुनेपर्ने उनको माग छ । नेपालको संविधानले राष्ट्रियता, अस्तित्व र स्वतन्त्रताको बचाउ गर्दै अन्य धारामा आफ्नो असहमति व्यक्त गर्ने स्वतन्त्रता दिएको उनको दाबी छ । ‘धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपालको पहिचान हुनपर्छ । यो पाँच हजार वर्ष पुरानो सभ्यता बोकेको राष्ट्र हो । त्यो पहिचानलाई हामीले छोड्नुपर्ने आवश्यकता छैन । नेपालको संविधानले नेपालको राष्ट्रियता, अस्तित्व, स्वतन्त्रताको बचाउ गर्ने हो । अरु सबै कुरामा मेरो यो दफासँग असहमति छ भन्न रोकेको छैन,’ उनले भने ।

प्रजातन्त्रको सुन्दरता नै आफूलाई चित्त नबुझेको भन्न पाउनु भएको बताउँदै उनले यस विषयमा कसैको चित्त नबुझेमा अदालत जाने छुट रहेको बताए । अहिलेको विकासको बाधक भ्रष्टाचार भएको उनको धारणा छ । प्रधानमन्त्री प्रचण्डलाईसमेत भ्रष्टाचारको आरोप रहेको र त्यसको छानबिन हुन आवश्यक रहेको उनको भनाइ छ । भ्रष्टाचार गर्ने जोसुकै भएपनि कारबाही हुनुपर्ने लोहनीले बताए । ‘भ्रष्टाचार गर्ने जोसुकै होस् । हाम्रो पार्टीका कोही छन्भने समात्नुस्, कारबाही गर्नुस् । भ्रष्टाचार गर्ने मान्छेलाई हामी संरक्षण गर्दैनौं । यो हाम्रो प्रतिवद्धता हो,’ उनले भने ।

रबि लामिछानेलाई गृहमन्त्रालय दिने विषय सकारात्मक नभएको उनको धारणा छ । कुनै पनि मान्छेका विरुद्ध कानुनी प्रश्न खडा हुँदैगर्दा उसले पदमा रहन नहुने उनको धारणा छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot