अमेरिकी विदेशमन्त्रीको टिप्पणीको चीनद्वारा आलोचना


एजेन्सी । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन्। उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू उचालेर चीनको विकासलाई रोक्ने प्रयास नगर्न आग्रह गरेकी हुन्।

सञ्चारमाध्यममा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता शिखर सम्मेलनमा आफ्नो टिप्पणीमा गत नोभेम्बरमा अमेरिकाले चीनलगायत थुप्रै देशहरूलाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घन गरेको भन्दै ‘विशेष चिन्ताका देशहरू’ भनेर उल्लेख गरेका थिए।

उनले सो टिप्पणीमा मुख्यरूपमा मुस्लिम उइघुर समुदायविरुद्ध नरसंहार चलाइएको भनेर चीनको धार्मिक नीतिको व्यापक आलोचना गरेका थिए। प्रवक्ता मओले ती टिप्पणीहरू आधारभूत तथ्यहरूको विपरीत र वैचारिक पूर्वाग्रहका आधारमा गरिएको बताएकी छन्।

तिनीहरूले जानाजानी चीनको धार्मिक नीतिलाई नकारात्मकरूपमा चित्रण गर्छन् र चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने प्रयास गर्छन्, चिनियाँ पक्ष यसको कडा विरोध गर्दछ, प्रवक्ता माओले भनिन्।

माओले चिनियाँ सरकारले कानुन बमोजिम नागरिकको धार्मिक आस्थाको स्वतन्त्रताको रक्षा गर्ने पनि बताएकी छन्। चीनमा झण्डै २० करोड जनसङ्ख्या धर्ममा आस्था राख्नेहरू छन्। त्यसैगरी तीन लाख ८० हजार भन्दा बढी धर्मगुरुहरू र करिब पाँच हजार ५०० धार्मिक समूहहरू सक्रिय छन्। त्यसैगरी एक लाख ४० लाख भन्दा बढी पूजास्थलहरू धार्मिक गतिविधिका लागि दर्ता भएका छन्। जसमा सिनजियाङमा मात्र २४ हजार मस्जिदहरू छन्। तर संयुक्त राज्य अमेरिकाको यस विषयलाई हेर्ने दृष्टिकोण एकदम फरक, पूर्वाग्रही र नकारात्मक छ भएको माओले बताइन्। यसैबीच प्रवक्ता माओले ७५ प्रतिशत अमेरिकी मुस्लिमहरूले अमेरिकी समाजमा मुस्लिमहरूमाथि गम्भीर भेदभाव रहेको विश्वास गर्छन् त्यसैले अमेरिका यस मुद्दामा चीनलाई औंला उठाउने अवस्थामा रहेको टिप्पणी गरेकी छन्।

त्यस्तै अर्को प्रसङ्गमा माओले भनिन् ‘चीनले ‘नरसंहार गरेको’ आरोप अमेरिकी पक्षले प्रचार गरेको घोर झूटबाहेक केही होइन यसमा कुनै सत्यता छैन।’

यहाँको उइघुर जनसङ्ख्या २२ लाखबाट हाल लगभग एक करोड २० लाख पुगेको छ। उनीहरूको औसत आयु ३० बाट बढेर ७४ वर्ष पुगेको छ। यी तथ्यहरूका अतिरिक्त, संयुक्त राज्य अमेरिकाले सिन्जियाङको बारेमा चीनलाई नियन्त्रण गर्न र चीनलाई तल पार्नका लागि केवल बहाना खोजेको मात्र हो। यद्यपि अन्तर्राष्ट्रिय समुदायले यो स्पष्ट रूपमा देख्न सक्छ, माओले भनिन्। ‘हामी अमेरिकालाई वास्तविक तथ्यको सम्मान गर्न र तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू प्रयोग गरेर चीनकाविरुद्ध हस्तक्षेप गर्न बन्द गर्न आग्रह गर्दछौं।’ प्रवक्ताले भनिन्। रासस