Logo

स्थानीय उत्पादनलाई प्राथकिमता दिन मुख्यमन्त्री अधिकारीको आग्रह



काठमाडौं, २१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान सकेमात्र आत्मनिर्भरको बाटोमा नेपाल जानसक्ने धारणा व्यक्त गरेका हुन् ।

उनले नेपालसमेत पुष्पखेती फष्टाउँदै आएकाले नेपालमा उत्पादन भएको फूलको माला प्रयोग गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे । उनले देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न सबैमा आग्रह गर्दै फजुल खर्च र समयको सदुपयोग गर्न सकेमा मात्रै समृद्ध नेपालको बाटोमा जान सकिने बताए ।

‘सार्वजनिक कार्यक्रममा एक घण्टाभन्दा बढी खर्च नगर्ने निर्णय लिएको छु । कार्यक्रममा प्रयोग भएका माला तथा खादा स्वदेशी मात्रै प्रयोग गर्न आयोजकलाई भन्दै आएको छु, लायन व्यावसायिक हुन्छन्, आत्मनिर्भरका लागि देशमै उत्पादन भएका वस्तुको प्रयोगमा जोडिदिउँ । आत्मनिर्भरका लागि आयातमा रोक लगाउने होइन हाम्रो सोच बदल्ने हो, स्थानीय उत्पादनलाई प्राथमिकता दिने हो,’ उनले भने ।

उनले सार्वजनिक कार्यक्रममा धेरै समय खर्च गर्दा जनताका अन्य काममा बाधा पुग्ने जनाउँदै सार्वजनिक कार्यक्रमलाई छोटो बनाउन आयोजकहरुलाई आग्रह गर्दै आएको पनि बताए । गण्डकी प्रदेश सरकारले आत्मनिर्भरका लागि विभिन्न योजना ल्याउन थालेको उल्लेख गर्दै लायनसँग सहकार्य गर्दै प्रदेश सरकारका योजना अगाडि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot