Logo

अहिलेको सत्ता गठबन्धन वाम–दक्षिणपन्थी खिचडी गठबन्धन हो– माधव नेपाल



काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेकपा (माओवादी केन्द्र) अप्रत्यासित रूपमा निर्वाचनका बेलाको गठबन्धन छाडी नयाँ गठबन्धनमा गएपछि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, रास्वपा, नाउपा र जनमत पार्टी मिलेर सत्ता गठबन्धन बनेको छ । यो गठबन्धन खिचडी प्रकृतिको छ । यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, संघीयताको पक्षधर जसपा र संघीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन्,’ आफ्नो राजनीतिक प्रतिवेदनमा उनले लेखेका छन् ।

अहिलेको सत्ता गठबन्धनको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको भन्दै उनले अहिलेको सत्ता गठबन्धनलाई  विचारहिन र अराजनीतिक चरित्र भएको अर्को आरोप लगाएका छन् । ‘यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहिन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ,’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्