Logo

अगस्त्यमा जोडिए नाजिर र मलिका



काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइएको छ । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।

सौगात, नाजिर र मलिका पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् । सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मको कथा उनी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी प्राप्त छ । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । भारतीय कलाकारसँग चाँडै सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ । आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।



प्रतिक्रिया दिनुहोस्