Logo

इजरायली सेनाको आक्रमणमा किशोरको हत्या



एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्यमन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा गरेको छ । उनलाई ‘नाब्लसमा आक्रमणको क्रममा कब्जा गर्ने (इजरायली) सैनिकले अनुहारमा गोली हानेर मारेको जनाइएको छ ।

इजरायली सेनाले घटनाको विवरण अनुसन्धान गरिरहेको बताएको छ । सहरमा इजरायली छापा मार्दा तीन जनालाई पक्राउ गरिएको एक प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ । अलगरूपमा, आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जेनिनको फ्ल्यासपोइन्ट शहरनजिकैको बुर्किनमा करिब २० प्यालेस्टाइनीलाई पक्राउ गरिएको बताएको छ । हालैका महिनामा वेस्ट बैंकका शहरमा इजरायली आक्रमणहरूबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

गत सोमबार, इजरायली सेनाले जोर्डन उपत्यकाको जेरिको शहरमा संदिग्ध व्यक्तिको खोजीपछि छापा मारेर पाँच संदिग्ध प्यालेस्टिनी बन्दुकधारीलाई मारेको जनाइएको छ । यस वर्षको सुरुदेखि हालसम्म इजरायल–प्यालेस्टाइन द्वन्द्वले ४२ प्यालेस्टाइनीहरूको ज्यान लिइसकेको छ । सन् १९६७ को छ दिने युद्धपछि इजरायलले वेस्ट बैंक कब्जा गरेको थियो । सन् २००५ मा संयुक्त राष्ट्रसङ्घले उक्त क्षेत्रमा हताहतीको तथ्याङ्क लिन थालेयता गत वर्ष वेस्ट बैंकमा सबैभन्दा घातक वर्षको रुपमा रहेको जनाइएको छ । त्यहाँ दुई सय ३५ जनाको मृत्यु भएको र यसमा लगभग ९० प्रतिशत प्यालेस्टाइनतर्फको रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्