Logo

एमालेलाई राष्ट्रपति नदिए प्रचण्ड पनि प्रधानमन्त्री रहनुहुन्नः भट्टराई



काठमाडौं, २५ माघ । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको उम्मेदवार राष्ट्रपतिमा पराजित भए पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहन नसक्ने ठोकुवा गरेका छन् ।
‘पुस १० गते मध्याह्नमा प्रचण्डले प्रधानमन्त्री र नेकपा एमालेले सभामुख र राष्ट्रपति पाउने लगायत प्रदेशमा साझेदारीको सहमति भएको हो । त्यसअनुसार एमालेको उम्मेदवारले राष्ट्रपति हार्‍यो भने गठबन्धन स्वतः टुट्छ । एमालेलाई राष्ट्रपति दिनु भएन भने प्रचण्ड पनि प्रधानमन्त्री रहन सक्नुहुन्न,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
एमाले नेता भट्टराईले आफ्नो पार्टीले राष्ट्रपति पाउने लिखित समझदारी नभएको स्वीकारे । उनले भने, ‘बालकोटमा ६ जना शीर्ष नेताको बीचमा प्रचण्डले मुन्टो हल्लाएर एस् भन्नुभएको हो । उपेन्द्र यादव, रवि लामिछाने, सीके राउत र राजेन्द्र लिङ्देन साक्षी हुनुहुन्छ । तर त्यसको लिखित समझदारी नगरेकै हो । किनभने यसमा धेरैचोटि धोका भइसक्यो । प्रचण्डलाई सत्य बोल्ने हिम्मत र साहस छ ?’
उनले एमालेलाई कच्चा खेलाडी नसम्झन पनि प्रचण्डलाई चेतावनी दिए । भट्टराईले थपे, ‘उहाँले त्यो सहमति ठाडै उल्लंघन गर्नुहोला र अर्कालाई भोट हाल्न लगाउनु होला भन्ने मलाई लाग्दैन । उहाँले सहमति अनुसार एमालेका उम्मेदवारलाई सरक्क भोट हाल्नुपर्छ । नभए उहाँको विश्वसनीयता जिरो हुन्छ ।’
सहमति पालना नगरे माओवादी अर्को चुनावमा पाँच सिटमा सीमित हुने पनि उनले दाबी गरे । उनले भने, ‘२०७४ मा एमालेसँग सहकार्य गर्दा ३६ सिट ल्याउनुभएको थियो । २०७९ मा सबैले भोट खन्याउँदा पनि जम्मा १८ सिट जित्नुभयो । गठबन्धन टुटाएर कांग्रेसतिर जानुभयो भने उहाँको एउटा हातमा सीमित हुन्छ । यो पनि लेखेर राख्नुस् ।’
संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षे प्रधानमन्त्री हुन्छु भन्नु अनुचित हो र भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, ‘यो कुरा उहाँले बालकोट पुगेर बार्दलीबाट हात हल्लाउनुभन्दा अगाडि सोच्नु पर्थ्र्यो । कांग्रेसको कुन कित्ता हो ? सत्तापक्ष हो कि प्रतिपक्ष ? अहिले पदका लागि म्याउँम्याउँ गर्ने ? २०७८ असार २८ पछि राष्ट्रिय सहमतिको बेमौसमी बाजा किन बजेन ? यो गीत किन बन्द भयो ? उहाँहरुको टेपरिकर्ड बन्द भएको थियो ? आफूलाई चाहिँदा मात्र राष्ट्रिय सहमति ?’ नैतिक रुपमा पनि प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन नमिल्ने उनले औंल्याए ।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकताको सम्भावना कति छ भन्ने अर्को प्रश्न भट्टराईले भने, ‘केपी ओलीले कर्के नजरले हेर्दा पनि, आँ गर्दा पनि चर्चा हुन्छ । उहाँ कि कट्टर समर्थक हो कि कट्टर विरोधी । उहाँको कुनै ग्रे एरिया छैन । रास्वपासँग हाम्रा असहमति छन् सिद्धान्त, विचार र कार्यशैलीमा । रविजीको अपरिपक्वताका बाबजुद पनि उहाँलाई जनताले जिताएकै हो त । हामी नेतानेताको टाउको जोडेर गरिने एकताको पक्षमा छैनौं । अब हामी एक्लै बहुमत ल्याउन लाग्छौं । लन्जोफन्जोमा लाग्दैनौं ।’
सरकारबाट रवि लामिछानेको बहिर्गमन प्रचण्डको चरम असफलता भएको पनि उनले टिप्पणी गरे । भट्टराईले भने, ‘नागरिकता, राहदानीको विवाद छ भन्ने थाहा भएको भए प्रचण्डले हिजो किन रवि लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाएको ? आफू प्रधानमन्त्रीको सपथ खान हतार गरेर ओके भन्ने अनि अहिले आएर पानीमाथिको ओभानो बन्ने ? रास्वपा सरकारबाट हट्नु प्रचण्डको असफलता हो । कांग्रेसले ७६(३) अनुसार खत्रक्क प्रधानमन्त्री लगेपछि प्रचण्डले चाल पाउनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्