Logo

टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार नजीक



काठमाडौं, माघ २५ । सोमवार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ । भुकम्पमा परि मृत्यु हुनेको संख्या करिव २० हजार पुग्न सक्ने अनुमानकाबीच उद्धारकर्मीहरू तीव्र रूपमा मानिसहरूको खोजीमा जुटेका छन्।

हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको छ। एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको बीबीसीले उल्लेख गरेको छ ।

सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो।

टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन्। तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास अपर्याप्त भएको जनाइरहेका छन्।

धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन्। उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन्। यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ। यूके, अमेरिका, चीन र रुसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्