Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा कांग्रेससँग सम्झौता भएको छ- गोविन्द पोखरेल (भिडियोसहित)



काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता प्रा.डा गोविन्दराज पोखरेलले राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताएका छन् । हिजो(मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसले विश्वासको मत दिँदै गर्दा केही सहमति बनेको र संसद्को पहिलो दलको हैसियतले राष्ट्रपति पाउनु पर्ने बताएका हुन् । कांग्रेसले राष्ट्रपति पाउँदै गर्दा राष्ट्रलाई नै फाइदा हुने र सहकार्यको पनि वातावरण बन्ने उनको दाबी छ ।

‘पछिल्लो चरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका नेताहरुसँग कुरा गरेर प्रतिपक्षमा रहँदै गर्दा पनि विश्वासको मत दिने अवस्था बन्यो । मेरो विचारमा केही न केही समझदारी भएर मात्रै त्यसोभएको हुनुपर्छ । कांग्रेसले राष्ट्रपति पाउने अधिकार राख्छ । संसद्को तेस्रो दलले प्रधानमन्त्री पाएको छ । दोस्रो दलले सभामुख र पहिलो दलले राष्ट्रपति पाउँदा एकप्रकारको राजनीतिक सहमति, सहकार्य हुने वातावरण बन्छ,’ उनले भने ।

उनले अहिलेको सत्ता गठबन्धनलाई सप्तरङरगी गठबन्धनको संज्ञा दिए । अहिलेको सात दलीय गठबन्धनलाई कांग्रेसले भाड्न नचाहेको पनि उनको स्पष्टोक्ति छ । अहिलेको सत्ता गठबन्धन गन्तव्यहीन भएको पनि उनको आरोप छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सनकका भरमा संसद् विघटनको अवस्था नआओस् भन्ने धारणा राखेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ छ । कांग्रेसले २०५१ सालमा संसद विघटन गरेको स्मरण गर्दै उनले तत्कालीन समयमा विघटनको प्रवधान रहेको र अहिलेको संविधानले राजनीतिक. अस्थिरता नआओस् भन्ने मनशाय राखेर प्रधानमन्त्रीको सनककै भरमा संसद् विघटन नहुने प्रवधान राखेको उनको जिकिर छ ।

 

 



प्रतिक्रिया दिनुहोस्