Logo

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद एमालेले लिए संवैधानिक दुर्घटना निम्तिन सक्छः रमेश लेखक



काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सबैभन्दा बढी मतभार भएको पार्टीले राष्ट्रपति पदमा आँखा लगाउनु स्वाभाविक भएको बताएका छन् ।
‘अहिले राष्ट्रपतिका लागि कुनै पार्टीको एकल बहुमत छैन । तर नेपाली कांग्रेस संघीय संसद् र प्रदेश सभा दुवैमा सबभन्दा बढी मतभार भएको पार्टी हो । सबभन्दा जसको बढी मतभार भएको पार्टीले आँखा नलगाउने हो भने कसले आँखा लगाउने त ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखकले प्रतिप्रश्न गरे ।
कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु मुलुकको आवश्यकता भएको पनि उनले औंल्याए । लेखकले थपे, ‘संविधानको रक्षा र सार्थक कार्यान्वयन अहिलेको आवश्यकता हो । प्रतिनिधिसभाको पहिलो बैठकमै जुनसुकै बेला संसद् विघटन हुन सक्छ भन्ने अभिव्यक्ति आउनु खतरानाक संकेत हो । एमालेकै सहयोग र समर्थनमा प्रधानमन्त्री र राष्ट्रपति हुने हो भने संसद विघटन हुन सक्छ । व्यवस्था धरापमा पर्न सक्छ । मुलुक अन्योल र अनिश्चिततामा फस्छ । त्यस्तो संवैधानिक दुर्घटना हुन नदिन माओवादी पनि सचेत हुनुपर्छ ।’
कांग्रेसले विपक्षी बेन्चमा बसेर सरकारका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेको पनि लेखकले दाबी गरे । उनले भने, ‘हामी सरकार गठनमा संलग्न भएका होइनौं । संविधानको रक्षाका निम्ति विश्वासको मत मात्र दिएका हौं । सरकारको विरुद्ध बोल्दैनौं भनेर लेखेर दिएका छैनौं । कमसेकम सय दिन हेर्नुपर्छ । त्यसपछि आफ्नो भूमिका निर्वाह गर्छौं । सरकार बनाउनका लागि बनेको गठबन्धन राष्ट्रपति निर्वाचनमा रहनु आवश्यक नरहेको उनको तर्क छ ।
कानुनविद् समेत रहेका लेखकले अहिले सरकारमा भएका जुनसुकै पार्टीले समर्थन फिर्ता लिए वा पार्टी विभाजन भए प्रधानमन्त्रीले प्रतिनिधिसभामा पुनः विश्वासको मत लिनुपर्ने औंल्याए । साथै उनले सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत लिन नसके संविधान बमोजिम अर्को सरकार गठन प्रक्रिया अघि बढ्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot