Logo

बैंकको चर्को व्याजले व्यवसायीलाई सुकुमबासी बनाउँदैछ– कुमार कार्की



काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कोभिड–१९ को मारमा परेका व्यसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्को रुपामा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाए । बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको उनले बताए । ‘हामीलाई अत्याउने, धम्क्याउने काम भएको छ । पत्रिकामा फोटो निकालिदिउँ भनेर बैंक तथा वित्तीय संस्थाबाट धम्की आउने गरेको छ । दुई लाख लोन लिएका व्यवसायीले दश लाखको जग्गा जमिन छोड्ने अवस्था आएको छ । सुकुम्बासी समस्या समाधानका लागि सरकारले करोडौं खर्च गरिरहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले आज व्यसायीलाई सुकुम्बासी बनाउँदै छन् । यो कहाँको न्याय हो,’ उनले प्रश्न गरे । व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने उनको दाबी छ । बैंक तथा वित्तीय संस्था नव सामन्त भएर उदाएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्