Logo

सर्लाहीको धनकौल गाँउपालिकाद्वारा घरदैलो स्वास्थ्य कार्यक्रम शुभारम्भ



बखतियार अलि
सर्लाही ३ फागुन । सर्लाही जिल्लाका धनकौल गाँउपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ । जिल्लामै पहिलो चोटी घरदैलोमै स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा दिन शुरु गरिएको हो । घरदैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ सार्वजनिक गर्दै धनकौल गाँउपालिकाका अध्यक्ष राम आश्रय साहले जेष्ठ नागरिक, अशक्त, तथा विपन्न परिवारलाई लक्षित गरि यो कार्यक्रम शुरु गरिएको बताए ।

जसमा धनकौल गाँउपालिकामा रहेका सातै वटा वडामा रहेका प्रत्यक घर दैलोमा गएर स्वास्थ्यकर्मीहरुले हरेक नागरिकको स्वास्थ्य परिक्षण गर्ने उनको भनाई छ। उनले भने, ‘यस अभियानबाट घर परिवारका सबै जनाले स्वास्थ्य सेवाको लाभ लिन सक्नेछन् ।

घर दैलो स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैको सहयोग अपरहिार्य रहेको छ ।’ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साहले यस पालिका भित्र रहेका ४ हजार ७७ घर धुरी तथा ५ हजार १ सय २१ परिवारलाई लक्षित गरि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरिएको बताए ।

चालु आर्थिक वर्षको अन्तसम्ममा पालिकाका सम्पुर्ण घर धुरीमा स्वास्थ्यकर्मी गएर स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी समेत उपलब्ध गराई सक्ने लक्ष्य रहेको उनले बताए। अस्पताल तथा स्वास्थ संस्था सम्म नपुग्न सकने व्यक्तिलाई यो कार्यक्रमबाट ठुलो फाईदा हुने अधिकृत साहको भनाई छ। उनले भने, ‘चालु आर्थिक वर्षमा कार्यक्रम प्रभावकारी भएको खण्डमा यस कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिइने छ ।’

स्वास्थ्य शाखा प्रमुख अरुण महतोका अनुसार घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सर्लाही जिल्लाकै लागि नौलो कार्यक्रम हो । यस कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरु पालिकामा रहेका सबै घर दैलोमा गएर ज्वरो मापन, मुटुको गति मापन, स्वासप्रस्वासको गति मापन, ब्लड प्रेसर, ब्लड सुगर, साधारण ट्रेसिंग, समान्य उपचार सेवा लगायत परामर्श दिने छन् ।

हरेक नागरिकको स्वास्थ्य सेवामा पहुच होस भनेर पालिकाले यो कार्यक्रम शुरु गरेको स्वास्थ शाखा प्रमुख महतोले बताए । पालिकाका सबै वढाअध्यक्षहरुले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ धेरै राम्रो कार्यक्रम रहेको भन्दै प्रशंसा गर्दै यसअभियानमा साथ र सहयोग रहने जनाएका छन् । पालिका अध्यक्ष रामआश्रय साह र उपाध्यक्ष अकली देवी सहनीको स्वास्थ्य परिक्षण गर्दै यस घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot