Logo

प्रचण्डको एकमात्रै उद्देश्य भनेको जसरी पनि सरकारमा टिक्ने नै हो : मुमाराम खनाल (भिडिओसहित)



काठमाडौं, ४ फागुन । राजनीतिक विश्लेषक मुमाराम खनालले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दललाई स्विकार्य हुने सहमतिको राष्ट्रपति खाजेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारमा टिक्नको लागि उपाय खोजिरहेको पनि उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सानो दलले प्रधानमन्त्री बन्नु नै गलत भएको पनि टिप्पणी गरे । उनले भने,‘प्रचण्डले अनैतिकता प्रदर्शन गरेको त्यतिवेला हो, जसको चाहीँ संसद्मा ३२ सिट छ, त्यो पार्टी संसदीय व्यवस्थामा प्रधानमन्त्री लिनको लागि योग्य नै हुँदैन् । प्रचण्डले आफू केन्द्रमा रहेर अराजनीतिक गतिविधि गरिरहेका छन् । यसले देशकै राजनीतिलाई अस्थिरता बनायो ।’

खनालले अहिलेका राजनीतिक दलहरुमा विकास र समृद्धिको एजेण्डा नै नभएको जिकिर गरे । उनले काठमाडौं बसपार्कमा हालै घटेको घट्नामा एमाले र माओवादीका कार्यकर्ताहरुको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाए । उनले ०७४ को निर्वाचनमा विकास र समृद्धिको लागि सबै दल आशावादी रहेकोमा अहिले त्यो कुरा डिस्कोर्समा नै नभएको जिकिर गरे ।

उनले प्रचण्डको पार्टीभित्र आन्तरिक लोकतन्त्र नै नभएको आरोप लगाए । उनले माओवादीमा प्रचण्डबाहेक अरुको कुनै भूमिका नै नभएको दाबी गरे । उनले राष्ट्रपतिको लागि एमाले र माओवादीबीच पुष १० गते नै सहमति भएको खुलासा गरे । तर, अहिले सहमति तोड्नको लागि प्रचण्ड नै उद्धत रहेको उनको टिप्पणी छ । उनले नेपालमा विदेशी शक्तिको कुनै हस्तक्षेप नभएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्