Logo

पर्यटन क्षेत्र पोखराका होटलको अग्रिम बुकिङ उत्साहप्रद छैन



पोखरा, फागुन ७ । अहिले पर्यटकीय सिजन सुरु भइसकेको छ। पर्यटन व्यवसायीले फेब्रुअरी(अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखरामा यही सिजनमा विदेशी पाहुनाको आगमन बढ्ने गथ्र्यो। फेब्रुअरी १५ पछिको समयलाई त व्यवसायीले मुख्य सिजन नै मान्दै आएका थिए। त्यही अनुसार पाहुनाले अग्रिम बुकिङ गर्दा व्यवसायी मक्ख पर्दथे। यस पटक भने पाहुनाको अग्रिम बुकिङ उत्साहप्रद नभएको व्यवसायीले बताएका छन्।

यस सिजनको सुरुआतमा बुकिङ अपेक्षानुसार नहुँदा व्यवसायी उत्साही हुन नसकेको उनीहरूको भनाइ छ। टेम्पल ट्री रिसोर्टका सञ्चालक बसन्त गौतमका अनुसार १५ फेब्रुुअरीदेखि पर्यटनको मुख्य सिजन सुरु हुन्छ। त्यसपछि विस्तारै बढ्दै गएर मार्चको पहिलो साता उचाइमा पुग्ने गरेको थियो तर कोरोना भाइरस संक्रमणपछि त्यो गति बदलिएको छ। त्यसैमा पनि यो पटकको गति त झन् कमजोर रहेको उनले बताए।

उनका अनुसार अहिले पोखराका होटलमा यस सिजनको अग्रिम बुकिङ ५० प्रतिशत पनि हुन सकेको छैन। यो निकै थोरै हो। ‘यतिबेलासम्म त अग्रिम बुकिङ ७० प्रतिशत भन्दामाथि उक्लिनुपर्ने थियो तर मुस्किलले करिब ५० प्रतिशत नजिक छ,’ उनले भने, ‘यो सुखद होइन। व्यावसायिक क्षेत्रमा ठूलो मार खेपेको पर्यटन क्षेत्रले अझै सकस खेप्नुपर्ने संकेत देखाएको छ।’

गौतमका अनुसार अहिलेको पोखराको होटलको अकुपेन्सी अनुपात बढीमा २० प्रतिशत मात्र रहेको छ। समय अनुसार यो ’अकुपेन्सी रेट’ पनि निकै कम हो। ‘अग्रिम बुकिङले ७० प्रतिशत र अकुपेन्सी ५० प्रतिशत रहेको भए बल्ल हामीले केही सहज अनुभूति गर्न पाउँथ्यौं तर अहिले अकुपेन्सी बढीमा २० प्रतिशत मात्र छ। अग्रिम बुकिङ ५० प्रतिशतभन्दा तल छ,’ गौतमले भने, ‘व्यवसायी सन्तुुष्ट हुने ठाउँ नै रहेन।’

उनका विचारमा कोभिड संक्रमण सुरु हुनुअघिको जस्तो अग्रिम बुकिङले गति लिन नसकेकै हो। २०२३ को अर्को सिजन ९सेप्टेम्बर(नोभेम्बर० देखि पर्यटनमा निकै सुधार हुने अपेक्षामा व्यवसायी रहे पनि त्यो समय अझै पछाडि धकेलिने देखिएको गौतमले बताए।

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली सिजन सुरु भए पनि अग्रिम बुकिङले सन्तुष्टि दिने छाँट नदेखाएको बताउँछन्। ‘सिजन सुरु भइसक्दा पनि अग्रिम बुकिङ राम्रो र सन्तोषजनक हुन सकेन। यतिबेला पर्यटक बढ्ने र बुकिङ पनि बढ्दै जानुपर्ने समय हो तर त्यो अनुसार देखिएको छैन,’ पराजुलीले भने, ‘यो मार्च र अप्रिलका लागि पनि राम्रो बुकिङ हुने बेला हो तर अहिलेसम्म त्यसरी पाहुना आउने संकेत देखिएको छैन।’

उनले पनि पोखराका होटलको यो बेलाको अकुपेन्सी करिब २० प्रतिशत मात्र रहेको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्