Logo

एमालेले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन सक्दैनः लालबाबु पण्डित



काठमाडौं, ७ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले राजनीतिमा दोग्ला चरित्र नदेखाउन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
‘सत्तामा पुग्नका निम्ति प्रचण्डले पुस १० नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेकाले अब बीचमा आएर कुरा बदल्न मिल्दैन । उहाँको मन कहाँ कहाँ दगुर्छ ! छिनछिनमा कुरा बदल्ने व्यक्तिलाई दोग्ला भनिन्छ । राजनीतिमा यस्तो दोग्लापन चल्दैन । पहिलेको सहमतिका साथ अगाडि साथ अघि बढ्ने हो । विश्वास गुमाएपछि कहीं टेक्ने ठाउँ हुँदैन । त्यस्तो दुर्भाग्यपूर्ण स्थितिमा उहाँहरु पुग्नुहुन्छ भन्ने मलाई लाग्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डितले भने ।
राष्ट्रपति लिएर एमालेले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन नसक्ने पनि उनले औंल्याए । उनले भने, ‘मनको लड्डु घिउसँग खानु सपनामा सम्भव छ, विपनामा छैन । प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री मान्ने स्थितिमा एमाले छैन । एमाले सहमतिबाट पछि हट्दैन । सकेसम्म गठबन्धन बचाउन लाग्छ । प्रचण्डले सहमति तोड्ने अनि उनले जे जे भन्छन्, त्यसैलाई लुरुलुरु खुरुखुरु मान्ने त्वम् शरण गर्ने पार्टी एमाले होइन । प्रचण्डले जानी जानी आफ्नै खुट्टामा बन्चरो हान्नुहुन्न होला ।’ कांग्रेसलाई राष्ट्रपतिमा सघाएर प्रचण्ड एमालेसँग सत्तामा रहने सम्भावना नभएको पनि उनले स्पष्ट पारे ।
अर्को प्रसंगमा एमाले नेता पण्डितले निर्वाचन आयोगमा राजावादी पार्टी दर्ता गरेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिए । उनले भने, ‘उहाँले राजावादी पार्टी दर्ता गरेर आए हामीलाई टाउको दुखाइको विषय होइन । पार्टी पार्टीबीचको सहकार्य हुन्छ । तर फेरि नारायणहिटीमा गएर खुट्टा हल्लाएर ल रैती मौसुफबाट बक्सिएको बक्सिस थाप भन्ने हो भन्ने बक्सिस थाप्ने, मौसुफ मान्ने केही झुन्ड होला । तर त्यो सम्भव छैन ।’



प्रतिक्रिया दिनुहोस्