Logo

नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन



चितवन, फागुन ८ । नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने गरेको हो ।

निकुञ्जभित्र हुने जङ्गल सफारी बन्द गर्ने र खोल्ने समय यकिन नहुनु, सफारीका लागि प्रयोग हुने सवारीको अनुमतिमा एकरूपता नहुनेजस्ता अवस्थाले पश्चिम चितवन र नवलपुर क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । खास गरी निकुञ्ज बन्द र खुला गर्ने समयको टुङ्गो नलाग्दा सफारीका लागि जाने पर्यटक त्यसबाट वञ्चित हुनुपर्ने अवस्थासमेत सिर्जना भएको छ ।

निकुञ्ज खुल्ने र बन्द हुने समयसम्बन्धी स्थिर नीति नहुँदा पर्यटकलाई सही जानकारी दिन समस्या हुने गरेको टेम्पल टाइगर गु्रप अफ कम्पनीजका अध्यक्ष वसन्त मिश्रले जानकारी दिए । “यस किसिमको अस्थिर नीतिले यस क्षेत्रको समग्र पर्यटनलाई नै असर पु¥याइरहेको छ,” उनले भने ।

निकुञ्जले पश्चिम क्षेत्रबाट हुने सफारी गत भदौमा बन्द गरेर माघ पहिलो साता मात्र खुलाएको थियो तर सौराहाबाट हुने सफारी भने असोजमै खुला भएको थियो । त्यस्तै पश्चिम क्षेत्रबाट हुने सफारीका लागि एकदमै कम मात्र सवारीसाधन उपलब्ध गराएको मिश्रले जानकारी दिए ।

“हाम्रै कुरा गर्दा एउटा मात्र सवारीसाधनको अनुमति दिएको छ, उनले भने, “आठ÷दस जनाभन्दा बढी पर्यटक भएको अवस्थामा अरूसँग सवारीसाधन सापट माग्नुपर्ने अवस्था छ ।

”पश्चिम क्षेत्रका व्यवसायीले निकुञ्ज क्षेत्रको भ्रमणमा उत्सुक पर्यटकलाई जङ्गल सफारीका लागि सवारीसाधन उपलब्ध गराउँदा समान व्यवहार गरिनुपर्ने, होटलको स्तर अनुभव, राजस्व सङ्कलन तथा पर्यटकको सङ्ख्याका आधारमा गाडीको सङ्ख्या तोकिनुपर्ने जनाउँदै आएका छन् ।

निकुञ्ज खुला गर्ने समयमा सबैतिर एकै पटक खोल्नुपर्ने, साना होटललाई घरबास समितिमार्फत सवारीसाधन राख्न दिनुपर्नेजस्ता व्यवसायीको माग छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्