Logo

एमाले दलविशेषको राष्ट्रपति बनाउन सकिँदैन– देव गुरुङ



काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमालेविशेषको व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै महासचिव गुरुङले एमालेविशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने संविधानमा उल्लेख नभएको बताएका हुन् । ‘एमाले पार्टीविशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले प्रश्न गरे ।

राष्ट्रपति निर्वाचन सत्ता गठबन्धनसँग जोडिएको विषय नै नभएको उनको दाबी छ । राष्ट्रपति जस्तो संवैधानिक संस्थालाई कुनै दल विशेषसँग जोड्न नमिल्ने भएकाले नै आफूहरुले राष्ट्रिय सहमतिको प्रयास गरेको उनले बताए । राष्ट्रिय सहमतिको राष्ट्रपति संविधानको मर्म र भावनाअनुकूल रहेको उनको तर्क छ ।

राष्ट्रपति निर्वाचनमा साझा सहमति जुट्नसक्ने उम्मेदवारलाई माओवादीले समर्थन गर्ने महासचिव गुरुङले बताए । राष्ट्रपति निर्वाचन सत्ता गठबन्धन भन्दा बाहिरको विषय भएकाले माओवादीले एमालेलाई धोका दिएको भन्न नमिल्ने उनले बताए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot