Logo

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै



काठमाडौँ,१० फागुन । बजेट अभावमा कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ ।

नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु चार लाख ९० हजार खर्च गरेको थियो । मसानघाटमा विभिन्न संरचनाका लागि रु दुई करोड ५४ लाखको बजेट अनुमान गरिएको छ ।

पहिलो चरणमा तटबन्ध र प्रतिक्षालय निर्माण सम्पन्न भएको थियो । त्यसमा नगरपालिकाको रु ३९ लाख ४० हजार खर्च भएको छ । निराजन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको ठेक्का रु ४१ लाख ६५ हजारमा लिएको नगरपालिकाका इञ्जीनियर नवीन ओझाले बताए । “नदीको पानीको बहावका कारण वर्षमा दुई–तीन महिनाभन्दा बढी काम गर्ने स्थिति थिएन । त्यसकारण ठेक्का भएको संरचना निर्माणमा समय लागेको हो”, उनले भने । चालु आवमा आयोजनाको बजेट नभएकाले काम ठप्प भएको उनको भनाइ छ ।

नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताए । वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot