Logo

गजल : एकान्तमा तिम्रै नाम मनमनै गुन्छु भन्थ्यौ



एकान्तमा तिम्रै नाम मनमनै गुन्छु भन्थ्यौ
हजारौंमा श्रेष्ठ रूप तिमीलाई नै चुन्छु भन्थ्यौ

दुइटा मुटु यौटै सानु तिमी मेरो जुनी जुनी
भन्छ्यौ भने तिम्रा लागि जूनतारा छुन्छु भन्थ्यौ

पिरतीको गोरेटोमा छेक्छ भने जोकसैले
बाघचालको बाख्रा बनी बाघलाई नै थुन्छु भन्थ्यौ

त्यो दिलमा अरूलाई नै वास राख्न खोज्यौ भने
मर्छु बरु एकान्तमा टोलाएर रुन्छु भन्थ्यौ

सुखसयल खोज्छ्यौ होली म त परेँ गाउँले दुखी
धन र मनको भिन्नता छ म त तिम्रै हुन्छु भन्थ्यौ

थरेन्द्र मिश्र
इन्द्रावती–सिन्धुपाल्चोक



प्रतिक्रिया दिनुहोस्