काठमाडौं, फागुन १३ । राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को होला भन्नेबारे सर्वत्र चासोको अन्त्य भएको छ ।
आज विहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार राष्ट्रपतिमा पौडेलको नाम सिफारिस भएसँगै कांग्रेसभित्र आकांक्षी नेताहरूको दौडधुपसमेत सकिएको छ ।
राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अग्रस्थानमा थियो । नेता कार्यकर्ताको तहमा उनकै नाममाथि चर्चा भइरहेको थिो । तर राष्ट्रपतिको निर्वाचन नजिकिँदासम्म भने आकांक्षीहरू बढिरहेका थिए।
अर्का नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका लागि लबिङ गरिरहेका थिए भने अन्य नेताहरू मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठले पनि आकांक्षा देखाएका थिए । केही नेताहरूले भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न समेत प्रस्ताव गर्दै आएका थिए ।
सभापति देउवाले नै राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिएपछि आफ्नो नाममा अन्तरदलीय सहमति र दबाब बनाउन पौडेलले अथक मिहेनत गर्दै आएका थिए ।
राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको छ ।
विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरू राष्ट्रपति पदका लागि एमालेइतरको व्यक्तिको खोजीमा थिए । त्यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउँदै आइरहेका थिए ।
तर, बिहीबार र शुक्रबार बिहानबाटै भइरहेका संवादबाट माओवादी केन्द्र राष्ट्रपति पद कांग्रेसलाई दिन तयार भएपछि एमाले–माओवादीसहितका दलको गठबन्धन भत्किएको हो । शुक्रबार बिहान १० पुसअघिको पुरानै गठबन्धन ब्युँताएर कांग्रेसलाई राष्ट्रपति दिन त्यसबखत गठबन्धनमा सामेल दल सहमत भएका हुन् ।
शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । योसँगै कांग्रेस नेतृत्वको गठबन्धन आठ दलीय बनेको छ ।




प्रतिक्रिया