Logo

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङले नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै, नेम्वाङ सफल राजनीतिज्ञ भएको उनको दाबी छ । ‘नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छौं । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि उम्मेदवारी उठाएका हौं,’ उनले भने ।

उनले आफ्नो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । ‘हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आफ्नो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ,’– उनले भने । यसैगरी उम्मेदवार नेम्वाङले आफूलाई पार्टीले राष्ट्रपति पदका लागि अघि सारेको बताउँदै भने–‘म पार्टीको तर्फबाट मात्र नभई सबैको तर्फबाट पार्टीका रुपमा अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।’

उनले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको र प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई स्वागत गर्ने बताए । निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्