Logo

नेपाललाई ओलीको पत्र



काठमाडौं, फागुन १४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ।

आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाएका हुन् ।

नेकपा (एमाले) प्रचार विभाग सचिव गगन विष्टले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न संसद्मा रहेका दललाई पत्र पठाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पत्र पठाइएको जानकारी दिए।

नेकपा (एस)लाई पहिलो पटक पत्र पठाएको मात्रै नभएर यो प्रक्रिया नै पहिलो पटक भएकाले संसदीय दलको हिसाबले पत्र पठाएको उनले बताए। सचिवालय बैठकले कांग्रेसबाहेक सबै दलसँग सहयोग माग्दै पत्र लेख्ने निर्णय गरेअनुसार एमालेले नेकपा (एस)लाई पत्र पठाएको हो।

पत्रमा आमनिर्वाचनको नयाँ जनादेशअनुरूप पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको उल्लेख गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको पत्रमा दाबी गरिएको छ।

“राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वाससाथ अनुरोध गरिएको,” पत्रमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्