Logo

‘आठ दलीय सहमति धमिल्याउन खोज्दै एमाले’



काठमाडौं, फागुन १४ । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई ‘ढोक्सा थापेको’ भन्ने टिप्पणी गरेका थिए। ओलीकै रणनीतिमा पुस १० गतेको सातदलीय सहमतिमा दाहाल प्रधानमन्त्री बनेका थिए। कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गर्न पुगेका थिए।

त्यसको १६ दिन नबित्दै प्रतिपक्षमा पुगेको कांग्रेसले नाटकीय रूपमा दाहाललाई विश्वासको मत दिएपछि ओली सशंकित बनेका थिए। त्यही शंका रोस्टममा उभिएर पोख्दैगर्दा उनले ‘कांग्रेसले ढोक्सा थापेको हो भने, त्यसमा केही नपर्ने’ बताएका थिए।

ओलीको त्यो शंका राष्ट्रपति निर्वाचनसँग केन्द्रित थियो। जुन त्यहीँदिनदेखि नै थप मजबुत हुँदै गयो। पुस १० मा एमालेलाई राष्ट्रपति दिन तयार भएका प्रधानमन्त्री दाहाल र उनको पार्टी नेकपा माओवादी केन्द्र राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’को रटान गर्न थाल्यो। त्यसपछि प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य नेताहरूसँग छलफल बाक्लिदै गएको थियो।

यहीक्रममा शुक्रबार साँझ प्रधानमन्त्री दाहालकै सक्रियतामा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने आठ दलीय निर्णय भएको छ। त्यसपछि शनिबार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सोही सहमतिका आधारमा उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री दाहाल स्वयंले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउन एमाले अध्यक्ष ओलीलाई प्रस्ताव गरेको शनिबार सार्वजनिक कार्यक्रममै बताएका छन्। तर, उक्त प्रस्ताव ओली सहमत भएनन्। एमालेले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङलाई उम्मेदवार खडा गरेको छ।

यसरी दुई महिनामै राजनीतिक सहमतिको कोर्ष परिवर्तन भएसँगै एमाले कर्नरमा पुगेको छ। कर्नरमा पुगे पनि उसले ‘रणनीतिक हार’ भने स्वीकारेको छैन। उल्टै कांग्रेसले पुस २६ मा एमाले–माओवादी केन्द्रबीचको सहमति धमिल्याएजस्तै अहिले आठदलको सहमति धमिल्याउने रणनीति अख्तियार गरेको छ।

यसैको सुरूवात स्वरूप राष्ट्रपतिको निर्वाचनअघि सरकार नछाड्ने निर्णय लिएको एक पदाधिकारीले दाबी गरे। बनेको आठदलीय गठबन्धनको धरातल पनि प्रष्ट नभइसकेको र सबैका स्वार्थ सम्बोधन हुनेगरी सहमति नभइसकेकाले तत्काल एमालेले मार्गप्रशस्त नगरेको ती नेताले बताए।

‘अहिले राष्ट्रपतिका लागि मात्र सहमति भएको देखिन्छ। त्यहाँ अनेक अवसरवाद र स्वार्थकेन्द्रीत दलहरूको जमात छ। सबैको मागबारे अझै सम्बोधन हुनेगरी सहमति बाहिर आएको छैन,’ ती पदाधिकारीले भने, ‘यस्तो परिस्थितिमा हामीले अहिल्यै सरकार छाड्दा उहाँहरूको गठबन्धनलाई मार्ग प्रशस्त गरेजस्तो हुन्छ। त्यो कच्चा खेल एमालेले खेल्दैन।’ राजनीतिमा अन्तिम घडीसम्म पनि सम्भावना हुने भएकाले राष्ट्रपतिको निर्वाचनसम्म पर्खिने रणनीति लिइएको उनले बताए।

यसबीचमा एमालेले कांग्रेसले पुस २६ गते विश्वासको मत दिएर अविश्वास पैदा गरेजस्तै आठ दलभित्र अविश्वास पैदा गर्ने रणनीति लिएको छ। सोही अवस्था सिर्जना गर्न राष्ट्रपतिमा उम्मेदवार दिएसँगै एमालेले अभ्यासको थालनी गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्