Logo

सिंहदरबारमा ओलीले सुवास नेम्वाङसहित सांसदहरुलाई जिल्ल बनाएपछि



काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई कुराएर पनि भेटवार्ता गरेनन् । सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा सुवास नेम्वाङसहित पार्टीका सांसदहरुलाई भेट्ने कार्यक्रम थियो ।

अध्यक्ष ओली आउने भएपछि राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित अरु सांसदहरु भेटवार्ताको लागि पखाईमा थिए । तर, ओलीले अन्तिममा सिंहदरबार नै नपसी सिधै जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा गएका छन् । एमाले सांसदहरुले भने राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई पनि भेट्ने भनेपछि महत्वपूर्ण बैठक नै होला भनेर बसेका थिए ।

तर, ओली कुनै जानकारी नदिई सिधै जमल पुगेपछि भने नेम्वाङसहित एमाले सांसदहरु जिल्ल परेका थिए । हिजोमात्रै एमालेको तर्फबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित विभिन्न आठ दलको समर्थनमा राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिका उम्मेदवारद्धयको विरोधमा कुनैपनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्