Logo

प्रचण्डले छेपारोले भन्दा छिटो रंग बदलेः निवर्तमान मन्त्री गिरी



काठमाडौं, १६ फागुन । निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमालेका नेता पदम गिरीले देशी-विदेशी शक्तिकेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शयनकक्षसम्म पुगेर दबाब दिएकाले सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन् ।
‘सरकार बनेको दुई महिना पनि पुग्न नपाउँदै प्रचण्डले छेपारोले भन्दा छिटो आफ्नो रंग बदल्दै अवसरवादी चरित्र प्रस्तुत गर्नुभयो र त्यसले गर्दा ४२ दिनमै सरकारबाट बाहिरिनु परेको छ । पछिल्लो समय देशी-विदेशी शक्तिले उहाँको शयनकक्षमा पुगेर दबाब दिए । विगतका कर्म कुकर्मले आज पनि उहाँलाई सपनामा खेदिरहेका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गिरीले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सरकार सञ्चालनमा कुनै अप्ठ्यारो नपारेको पनि उनले बताए । सांसद गिरीले भने, ‘उहाँले आफ्नो स्वार्थ र विभिन्न शक्तिकेन्द्रको स्वार्थलाई शिरमा राख्दा केपी ओलीको कुरा बिझायो पनि होला । तर उहाँले कहिल्यै ओलीका कारण अप्ठ्यारो किन भन्नुभएन ? हामी आफ्नो कारणले भन्दा पनि बेइमान नेतृत्वका कारण सरकारबाट बाहिरिएका हौं ।’

तपाईंहरु फागुन १ मा सार्वजनिक बिदा किन सहमत हुनुभयो भन्ने प्रश्नमा उनले भने, ‘फागुन १ मा सार्वजनिक बिदा दिने प्रस्ताव प्रचण्डले हठात् ल्याउनुभयो । त्यो मन्त्रिपरिषद् बैठकको कार्यसूचीमै थिएन । त्यसमा परराष्ट्रमन्त्री विमला राई र मैले असहमति जनाएका थियौं । उहाँले देउवाले मानिसकेको र ओलीले नरोकेको भन्नुभयो ।’
प्रचण्डलाई सरकारको नेतृत्व दिँदा एमाले नेतृत्व चुकेको पनि गिरीले बताए । उनले भने, ‘जसको जनमतै छैन, त्यस्तो पार्टीलाई शिरमा राख्दाखेरि हामी चुकेकै हौं । यस्ता अवसरवादीहरुले ढलिमली गर्दा राष्ट्र अरु बरबाद हुन्छ । जनताले दुःख पाउँछन् । हामीले यस्ता व्यक्तिसँग पार्टी एकतासम्म गरेर अघि बढ्यौं । पार्टी अध्यक्ष दिने, पावर सेयरिङमा पहिलो प्राथमिकता दिने गल्ती हामीले गरेकै हौैं । प्रचण्डसँगका कुनै पनि सहकार्य दिगो हुँदैनन् । यसमा एमाले र कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot