Logo

एमालेले कांग्रेसलाई फसाउन खोजेको जालमा ठूलो भ्वाङ पर्‍योः गोपालमान श्रेष्ठ



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले रामचन्द्र पौडेललाई राष्ट्रपति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
‘कांग्रेसले व्यापक छलफल र सर्वसम्मतिपछि रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाएको हो । उहाँको जित्ने आधार प्रशस्त छन् । पहिलो त संसदको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । रामचन्द्रजीलाई अरु सात दलको समर्थन छ । पार्टीको वरिष्ठ नेता, सभामुख भइसकेको र खारिएको नेता हुनुहुन्छ । आठ दलबाहेक नेमकिपा, राप्रपा, स्वतन्त्र पार्टीले पनि मत दिने आशा छ । अब उहाँलाई कसैले रोक्न सक्दैन,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आठ दलीय गठबन्धन फुटाउने कुनै सम्भावना नभएको पनि उनले बताए । श्रेष्ठले थपे, ‘ओलीजीले पहिले जे गर्नुभयो, गर्नुभयो । अब पाँच वर्ष निरन्तर रुपमा आठ दलीय गठबन्धन नै अगाडि जान्छ । अब ओलीजीको सपना साकार हुनेवाला छैन । नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढेको छ । हामीले धेरै ठक्कर खाएका छौं ।’
गोप्य मतदान भएकाले जनजाति नेताहरुले सुवासचन्द्र नेम्बाङलाई मतदान गर्ने चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता श्रेष्ठले भने, ‘सुवासजी पनि योग्य नै उम्मेदवार हो । सुवासजीका कारण होइन, ओलीजीको ज्यादतीका कारण भोट क्रस हुने स्थिति छैन । थोरै मतभारको फरक भए एउटा कुरा हो । तर धेरै मतभार फरक भएकाले त्यस्तो उलटफेर हुने स्थिति छैन ।’
उनले राष्ट्रपति निर्वाचनको आचार संहिता लागू भएकाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने पनि स्पष्ट पारे । कांग्रेसबाट सरकारमा को को सामेल हुन्छन् भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘नेपाली कांग्रेसले न्यूनतम आठनौ वटा मन्त्रालय पाउन सक्छ । त्यसमा पार्टीले राम्रा साथीहरुलाई नै पठाउँछ ।’
प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘प्रचण्ड र माधव नेपाल गठबन्धनमा नभई नहुने नेताहरु हुन् । मै खाऊँ मै लाऊँ भनेर मात्र हुँदैन । ठूलो पार्टीले पहिले नै नेतृत्व गर्नुपर्छ भन्दा दुर्घटना भयो । अब जे जस्तो सहमति भएको छ, त्यति अनुसार नै पाउने हो । प्रधानमन्त्रीमा प्रचण्डजीले नै निरन्तरता पाउनुहुन्छ । उहाँले छाडेपछि अरु पार्टीको पालो आउला ।’
अर्थतन्त्र अत्यन्त जर्जर भएकाले अर्थमन्त्रालय कांग्रेसको भागमा राख्नुपर्ने पनि उनले औंल्याए । उनले थपे, ‘त्यसका लागि कांग्रेसमा एकसे एक साथीहरु छन् । अब आन्दोलन र क्रान्तिका कुरा सकिएका छन् । अब देशमा समृद्धि ल्याउने काममा लाग्नुपर्छ । जनताको सुख, शान्ति र समृद्धिमा ध्यान दिनुपर्छ ।’
एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने कुरा गरिरहेको छ नि भन्ने प्रश्नमा नेता श्रेष्ठले भने, ‘एमाले भनेको धोकेबाज पार्टी हो । उसले जालमा फसाउन खोज्दा ठूलो भ्वाङ पर्‍यो । यो नेपाली कांग्रेसका नेताहरुले राम्रोसँग बुझेका छन् । कांग्रेस अर्को धोका खान चाहँदैन ।’ साथै उनले संविधानका ७६९३० अनुसार सरकार बन्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्