Logo

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना



नेपालगञ्ज, १९ फागुन । प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उनले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताए । “हामीले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको जाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिरहेका छौँ”, उनले भने ।

पर्व लक्षित सुरक्षा योजनाबमोजिम सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, लागुऔषध नियन्त्रण ब्यूरो बाँके र के–नाइन शाखा कोहलपुर बाँकेद्वारा संयुक्तरूपमा ‘डग स्निफिङ’ तथा जाँच पनि सुरु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

उनले खासगरी ‘डग स्निफिङ’ बाट केही लागुऔषध बरामद भएको र होटलहरूमा समेत परिचालन गर्ने तयारी भइरहेको बताए। “यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भीर भएर लागेका छौँ”, उनले भने । प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि गण र गुल्महरूसँग पनि आवश्यक समन्वय गरेको बताइएको छ ।

दुई पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर सार्वजनिक गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ का ५९ वर्षीय भगवान्द्दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका भगवान्द्दिन र सात वर्ष छ महिना कैद सजाय तोकिएका खेलावन हालसम्म फरार रहेका थिए । पक्राउ परेका दुवै जनालाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्