Logo

राजतन्त्र ब्युँताउन खोज्ने शक्तिलाई काखी च्यापेर केपी ओलीले आफूलाई छाया प्रधानमन्त्री सम्झनुभोः माओवादी नेता



काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका सचिव पूर्वमन्त्री गिरिराजमणि पोखरेलले जनादेश अनुसार संसदलाई पाँच वर्षसम्म चलाउनु, सरकारलाई स्थिरता दिनु र जनताको निराशा चिर्नु आठ दलीय गठबन्धनको चुनौती भएको बताएका छन् । वाम लोकतान्त्रिक शक्ति मिलेर मुलुकलाई सकारात्मक दिशा दिन लाग्नु अहिलेको अपरिहार्यता रहेको उनले औंल्याए ।
नेता पोखरेलले मुलुकलाई अस्थिरतातर्फ लाने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध विभिन्न गतिविधि भइरहेको आरोप पनि लगाए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘संसद् त्रिशंकु छ । कुनै एक पार्टीले मात्र सरकार बनाउने स्थिति छैन । त्यसैले मिलेर काम गर्नुपर्ने अवस्था छ । शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार पूरा गर्ने काम प्रधानमन्त्रीको एकल विषय होइन । यसमा सामूहिक ढंगले धारणा बनाउनु आवश्यक हुन्छ ।’
संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार कटिबद्ध रहेको पनि उनले बताए । आठ दलीय गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम बनाएर सरकार परिचालनमा सहयोगी संयन्त्र बनाउनुपर्ने पनि पोखरेलको मत छ ।

केपी शर्मा ओलीकै कारण पुस १० को सहमति भत्किएको आरोप उनले लगाए । पोखरेलले भने, ‘ओलीबाट दुईदुईपटक भएको संसद विघटन संविधानसम्मत र लोकतान्त्रिक थिएन । त्यसका विरुद्ध नेपाली कांग्रेससहित हामी मिलेर गयौं । तर ओलीजीले त्यसलाई फेरि पनि जायज ठान्नुभयो । उहाँले आफूलाई छाया प्रधानमन्त्री ठान्नुभयो । राजतन्त्र ब्युँताउन खोज्ने शक्तिलाई काखी च्यापेर वामपन्थी शक्तिसँगको सहकार्यलाई कमजोर बनाउनुभयो । सकेसम्म सबै पद कुम्ल्याउनुभयो । सरकारमा प्रोटोकलको ख्याल गर्नुभएन ।’ प्रधानमन्त्रीले विश्वासको मत लिने बेला कांग्रेसले विगतको गल्ती स्वीकार गरेकाले नयाँ समीकरण सम्भव भएको पनि उनको जिकिर छ ।
अहिलेको स्थितिमा रामचन्द्र पौडेल राष्ट्रपति बन्ने कुरामा शंका गर्ने ठाउँ नभएको दाबी उनले गरे । पोखरेलले भने, ‘सुवासचन्द्र नेम्बाङ उपयुक्त पात्र पात्र हुँदाहुँदै पनि केपी ओलीले दुईदुई पटक गरेको विटघन विरुद्ध संघर्ष गर्न सक्नुभएन । अहिले आठ दल एक ठाउँमा उभिएको स्थितिमा रामचन्द्र पौडेल राष्ट्रपति बन्ने कुरामा शंका गर्ने ठाउँ छैन । माओवादीको प्रधानमन्त्री, एमालेको सभामुख र कांग्रेसको राष्ट्रपति हुनु शक्ति सन्तुलनको हिसाबले पनि उपयुक्त छ ।’



प्रतिक्रिया दिनुहोस्