Logo

केपी ओलीको षडयन्त्र सफल हुन दिँदैनौंः कांग्रेस प्रवक्ता



काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै पनि धमिलो पानीमा माछा मार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
‘कसैको चाहनाले भोट क्रस हुने होइन । राष्ट्रपति निर्वाचनका मतदाता प्रदेशसभा, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद हुन् । रामचन्द्र पौडेल आठ दलीय गठबन्धनको साझा उम्मेदवार हो । त्यसबाहेक रास्वपा पनि सकारात्मक छ । केपी ओली अझै पनि भ्रम छरिरहनुभएको छ । पानीलाई धमिलो पारेर माछा मार्न खोजिरहनुभएको छ । केपी ओली वा अरु कसैले चाहँदैमा राष्ट्रपति निर्वाचनको परिणाममा फरक आउने म देख्दिनँ । त्यो षड्यन्त्र कदापि सफल हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. महतले भने ।
आठ दलीय गठबन्धन अहिले मन्त्रालय बाँडफाँटभन्दा राष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको उनले बताए । डा. महतले थपे, ‘अहिले हामी राष्ट्रपति निर्वाचनमा केन्द्रित छौं । निर्वाचन सकिएपछि कुराकानी बिस्तारै अघि बढ्ला ।’
यतिखेर मन्त्रालयमा छिनाझप्टी गर्नुभन्दा पनि अर्थतन्त्रमा आएको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने पनि डा. महतले औंल्याए । उनले भने, ‘अब कनिका छर्ने खालको बजेट ल्याएर तथाकथित लोकप्रिय हुने कदम रोक्नुपर्छ । अर्थतन्त्रलाई ट्याकमा ल्याउनका लागि लगानीको परिवेश बनाउनुपर्छ । अहिले लगानी भएका ठाउँमा प्रतिफल कम छ । फजुल खर्चलाई निषेध गर्नुपर्छ । साधारण खर्च कम गर्नुपर्छ ।’

अर्को प्रसंगमा उनले संक्रमणकालीन न्यायलाई सत्य निरुपण र मेलमिलाप आयोगमार्फत निष्कर्षमा पुर्‍याउन सरकार लाग्नुपर्ने पनि औंल्याए । कांग्रेस प्रवक्ता डा. महतले सन्त नेता कृष्णप्रसाद भट्टराईको बाह्रौं स्मृति दिवसको पनि स्मरण गरे । उनले भने, ‘लोभ मोह केही नभएका किसुनजीजस्ता नेता बिरलै पाइन्छन् । देशले यस्ता सरल र इमानदार नेता खोजिरहन्छ । तर यस्तो नेता सधैं प्राप्त गर्दैन ।’



प्रतिक्रिया दिनुहोस्