Logo

राष्ट्रपति बन्नुस् भन्दा उमेर पुगेको छैन भन्नेहरु पनि लालयित भए– विष्णु रिमाल (भिडियोसहित)



काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले विगतका राष्ट्रपतिहरुले आफ्नो पदलाई न्याय गरेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतका राष्ट्रपतिले राष्ट्रपति पदको न्याय गरेको कारण नै विगतमा राष्ट्रपति बन्नुस् भन्दा नमानेका नेताहरु पनि राष्ट्रपतिका लागि तयार भएका बताएका हुन् । राष्ट्रपति राज्यको निरन्तरता भएको उनको दाबी छ ।

‘राष्ट्रपति भनेको राज्यको निरन्तरता हो । यो आलंकारिक मात्रै होइन, संवैधानिक पद पनि हो । अरु देशको आलंकारिक राष्ट्रपति भन्दा हाम्रो देशको पृथकता के छ भने निश्चित दायित्व राष्ट्रपतिलाई छ । त्यो चाहिँ खास समयमा प्रयोग हुने हुनाले त्यसले राजनीतिमा तरङ्ग ल्याउँदो रहेछ भन्ने बुझेर राष्ट्रपति पदमा धेरै नेताको ध्यान गएको हो । अहिले जो–जो नेताहरु राष्ट्रपति पदको दौडमा लाग्नु भयो, उहाँहरु कुनै समयमा राष्ट्रपति  बन्नुस् भन्दा नमानेका व्यक्तिहरु हुन् । मेरो उमेर पुगेको छैन भन्ने नेताहरु हुन् । अहिले उहाँहरु नै राष्ट्रपति बन्न लालयित हुनुहुन्छ । त्यो पदलाई पछिल्लो समय राष्ट्रपति बन्नु भएका व्यक्तित्वले न्याय गर्नुभयो र राष्ट्रपति पदको गरिमा बढ्यो,’– उनले भने ।

राष्ट्रपति पद ईमर्जेन्सी गेट भएको उनको दाबी छ । खास समयमा राष्ट्रपतिको विशेष भूमिका हुने उनले बताए । अहिले नेपालमा कार्यकारी राष्ट्रपति जरुरी नभएको उनले बताए । तुरुन्त प्रणाली फेर्ने कार्यले देशलाई अस्थिरतातर्फ धकेल्ने उनको बुझाइ छ । आफूहरुले पुष १० को सहमति बमोजिम नै सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको र अहिले राष्ट्रपतिका उम्मेदवारमध्ये नेम्वाङ उपयुक्त उम्मेदवार भएको उनले बताए । राष्ट्रपति निर्वाचनमा मतदाताले आफ्नो विवेक प्रयोग गर्ने भएकाले सुवास नेम्वाङको सम्भावना उच्च रहेको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot