Logo

संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनः गगन थापा



काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहरूको भेटमा महामन्त्री थापाले यो संसद्मा पनि संसद् विघटनको ठिक थियो भन्ने हुँकार आउन थालेपछि एमाले–माओवादीसमेतको सात दलीय गठबन्धन बनेको बताए ।

निर्वाचनका बेला बनाइएको पाँच दलीय गठबन्धनलाई पुनः जागरण गराउन सफल भएको भन्दै थापाले भने– ‘हामीले पुरानो गठबन्धन व्युँताएका छौं । पुस १० मा केही प्राविधिक समस्या नमिल्दा गठबन्धन टुटेपनि फेरी यो मुलुकको संविधान र वर्तमान व्यवस्था बचाउनका लागि चुनाव अघिकै गठबन्धन देशले आवश्यक ठान्यो र हामीले मुलुकमा स्थायित्व दिनका लागि आठ दलको गठबन्धन गरेका हौं । यो आठ दलीय गठबन्धमा अन्य दलहरूसमेत थपिँदै गरेकाले पाँच वर्ष ढुक्क भएर यही गठबन्धनबाट मुलुकले स्थायित्व र विकास पाउने विश्वासका साथ हामी अघि बढेका छौं ।’

आठ दलीय गठबन्धन सहमतिअनुसार नै अघि बढ्ने भन्दै उनले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा सबै दलहरू एक भएर कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेअनुसार नै कांग्रेसले उम्मेदवारी दिएको बताए । थापाले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पारे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धन निर्माणमा भूमिका खेलेको उनको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्