Logo

चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत



एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ। अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ।

चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ। प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमीव्यवसायीलाई उत्प्रेरित गर्नुभएको छ। सन् १९७० पछि पहिलोपटक चीनको आर्थिक वृद्धिदर तीन प्रतिशतमा झेरको हो।

बैठकमा सरकारी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री लीले आर्थिक पुनरुत्थान र विस्तारलाई प्राथमिकता दिनु बजेटको मुख्य उद्देश्य भएको बताए। उनले स्वतन्त्र उद्यम र व्यवसाय प्रवद्र्धनमा जोड दिए। बाह्य व्यापारमा बढेको चुनौतीको सामना गर्ने सबल अर्थतन्त्र निर्माण लाग्नु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे।

प्रधानमन्त्री लीले उपभोक्ता खर्च बढाएर गार्हस्थ्य आम्दानी वृद्धिको आह्वान गरे पनि विस्तृत योजना सार्वजनिक गर्नुभएको छैन। विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रको सामथ्र्य बढाएर आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिएका छन्।

अमेरिकासँगको व्यापारमा मन्दी आएका बेला बजेटका लक्ष्य र उद्देश्य हासिल गर्न चीनलाई हम्मेहम्मे पर्ने देखिन्छ। चिनियाँ प्रासेसर चिप्स र अन्य उत्पादनमा अमेरिकाले देखाएको सुरक्षा चासोका साथै विश्वव्यापी माग घट्दा चीनको निर्यात व्यापार कमजोर हुने आर्थिक क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन्।

चीन सरकारले सी चिनफिङको नेतृत्वमा विद्युतीय कार, स्वच्छ ऊर्जा, दूर सञ्चार र अन्य क्षेत्रमा प्रतिस्पर्धी सृजना गर्ने प्रयासले अमेरिका र व्यापारिक साझेदारअन्यसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।

बजारमा आफ्नो नियन्त्रण कायम गर्ने, अनुदान दिएर अन्य लगानीकर्तालाई हतोत्साही पार्ने तथा प्रविधि चोरीजस्तो गम्भीर आरोप पनि चीनमाथि लाग्दै आएको छ।

आर्थिक, सामाजिक एवम् सांस्कृतिकरूपमा सुदृढ राष्ट्र बनाउन विदेशी लगानी प्रवद्र्धन गर्ने भनिए पनि वास्तवमा बेइजिङले आफ्नै घोषित नीतिको पालना नगरेको आरोप छ। रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्