Logo

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले



काठमाडौं, फागुन २३ । संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनेसँगै एमाले कांग्रेसलाई प्रधानमन्त्रीको प्रलोभन देखाउँदै मध्यावधिको पासो थाप्ने दाउमा लागेको हो ।

एमालेका महासचिव शंकर पोखरेलले मध्यावधिकै संकेत गर्दै भने– ‘यो जनादेश एक प्रकारले भन्नुपर्दा राष्ट्रको आवश्यकता अनुसारको जनादेश होइन । चुनाव भयो भने एमालेका लागि कुनै समस्याको विषय छैन ।’ तर, मौकामा लाभ प्राप्त गरेका दलहरूका लागि फेरि अर्को चुनावमा के होला भन्ने शंका छ । राष्ट्रपतिको निर्वाचनपश्चात कांग्रेसकै नेतृत्वमा सरकार बन्यो भने ती दलहरूले कांग्रेसलाई साथ दिइहाल्छन् भन्ने महासचिव पोखरेलको भनाइले एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने र नयाँ राजनीतिक कोर्समा अघि बढ्ने रणनीतिमा लागेको देखिन्छ ।

सातौं प्रधानमन्त्रीको प्रतीक्षा गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा साढे ३ वर्षसम्म धैर्यपूर्वक नबस्ने टिप्पणी गर्दै पोखरेलले भने–‘सत्ता राजनीति भनेको शक्ति संघर्षको खेल पनि हो । त्यसका बाछिटाहरू २५ गतेको राष्ट्रपति निर्वाचनपछि सतहमा आइहाल्छन् ।’ माओवादीलाई छोड्दा कांग्रेसको नेतृत्वको सरकार बन्ने जिकिर गर्दै उनले भने– ‘संविधानमा त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ । त्यसैले ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार कांग्रेसको हुन्छ । आफ्नो हातमा आएको सरकार छाडेर साढे तीन वर्षसम्म प्रचण्डको आदेश मानिरहने कुरा कांग्रेसका लागि स्वीकार्य होला त ?’

उसो त एमालेका अधिकांश नेताहरूले राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा बनेको आठ दल र वर्तमान प्रधानमन्त्रीको पदसमेत लामो समय नटिक्ने दाबी गरिरहेका छन् । एमाले नेता शेरबहादुर तामाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पद राष्ट्रपतिको निर्वाचनसम्म रहने नरहने टुंगो नभएको सावैजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् ।
कांग्रेसका नेताहरू एमालेले जुन खालको पासा फाले पनि कांग्रेस यो गठबन्धनबाट विचलित नहुने बताउँछन् । कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमाले सत्ता बाहिर पुगेपछि छटपटाएर अनेक फण्डा गर्न थालेको आरोप लगाउँदै भने–‘चुनाव अघिको गठबन्धन प्राविधिक कारणले केही समय भिन्न भयो । एमालेले त्यसैलाई सबैभन्दा ठूलो उपलब्धि ठानेर लागेको थियो । तर, दुई महिना पनि टिक्न सकेन । अब एमालेले फेरि अनेकन तुरुपहरू फाल्न थालेको छ, त्यसले यो गठबन्धनलाई केही फरक पर्दैन । हामी संविधानको व्यवस्थामा सचेत छौं ।’

उता माओवादी केन्द्रका नेताहरूले पनि राष्ट्रपतिका सवालमा एमाले राष्ट्रिय सहमतिको बाधक भएकाले गठबन्धन टुटेको बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्