Logo

राष्ट्रिय टिमका खेलाडी धमाधम विदेशिदै, एन्फा भन्छ– खेलाडी रोक्ने उपाय छैन



काठमाडौं, २३ फागुन । कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व आफैंमा गर्नु गौरवको विषय मानिन्थ्यो । मुलुकको झण्डा बोक्ने खेलाडी सद्‍भावना दूतका रूपमा चिनिन्थे। मान र सम्मान थियो, राष्ट्रका गहना भनिन्थ्यो र वाहावाही हुन्थ्यो। तर पछिल्लो समय राष्ट्रिय खेलाडी नेपालका राष्ट्रिय लिग र गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा सहभागी हुने होडबाजी चलेको छ।

काठमाडौंमा ए डिभिजन लिग फुटबल चलिरहँदा राष्ट्रिय फुटबल टिमका सदस्य एंव संकटा क्लबका कप्तान सुनिल बल भने सुरक्षित भविष्य र सुनौलो अवसरको लागि भन्दै अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी पछिल्लो समय नेपाली फुटबलमा नाम कमाएका खेलाडी हुन् । उनले विभिन्न प्रतियोगितामा आफ्नो उत्कृष्ट क्षमता प्रर्दशन गरेका छन् । उनी मात्र होईनन् विगत दुइ वर्षदेखि राष्ट्रिय तथा विभिन्न उमेर समूहमा रहेर खेलिसकेका खेलाडीहरु अष्टेलियालगायतका देशमा जाने क्रम बढ्दै गएको छ ।

विगत दुई वर्षको अवधिमा नेपाली खेलाडीहरु राजन गुरुङ, रमेश बर्तौला,रवि थिङ, आमिर श्रेष्ठ, सन्तोष तामाङ, दर्शन गुरुङ, विमल वस्नेत, हेमन गुरुङ, विमल राना, एलन न्यौपाने लगाएत विदेशिएका छन् । यसरी देश छोडेर विदेश पलायन हुने अधिकांश खेलाडीहरु देश छोड्नु रहर नभएर बाध्यता भएको बताउछन् । नेपालमा वर्षैभरि विभिन्न लिगहरु संचालन नहुने, खेलाडीलाई दिइने सेवा सुविधा प्रयाप्त नहुने हुँदा, अष्टेलियामा विभिन्न घरेलु सप्तहान्त प्रतियोगिता आयोजना भईरहने हुँदा आम्दानी पनि राम्रो हुने र भविष्यपनि उज्वल हुने हुँदा दिन प्रतिदिन खेलाडीहरु टिम छोडेर विदेशिने क्रम बढिरहेको छ ।

प्रतिभावान खेलाडीहरु दिनप्रतिदिन विदेश पलायन भईरहँदा अखिल नेपाल फुटबल महासंघ (एन्फा) भने मुकदर्शक बन्नु बाहेक केहि गर्न नसक्ने अवस्थामा पुगेको छ । राष्ट्रिय टिमका खेलाडीको धमाधम विदेश पलाएनको बारेमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ खेलाडी धमाधम विदेशिनु राष्ट्र र फुटबल क्षेत्रको लागि ठूलो क्षती हुने भन्दै तत्काल खेलाडी रोक्ने एन्फासँग कुनै उपाय नभएको बताउछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot