Logo

महिला पनि प्रधानमन्त्री हुन सक्षम छन्ः गुरुङ



काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसकी नेतृ एवं सांसद सीता गुरुङले ५१ प्रतिशत जनसंख्या ओगटेका महिलामाथि अझै पनि हिंसा भइरहनु दुःखदायी भएको बताएकी छन् ।
‘मुलुकको ५१ प्रतिशत जनसंख्याको हिस्सा महिलाले ओगटेका छन् । तर तिनले अहिले पनि हिंसाबाट मुक्ति पाएका छैनन् । पहिले सामाजिक र पारिवारिक हिंसा थियो भने अहिले यौनजन्य हिंसा बढिरहेको छ । नाबालिकादेखि वृद्धासम्मले भोगिरहेको हिंसा रोक्न कानुनी व्यवस्था कार्यान्वयनका साथै समाजको मनोभावना पनि अनुशासित हुनु जरुरी छ । यसमा तीनै तहका सरकारका साथै सबै नागरिक एकजुट हुनुपर्ने अवस्था छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भनिन् ।
महिलाहरु सामाजिक मूल्य र मान्यताका कारण पछाडि पारिएको पनि उनले बताइन् । गुरुङले थपिन्, ‘भूमिका र क्षमताका हिसाबले महिला कमजोर छैनन् । तर सामाजिक मूल्य र मान्यताका कारण महिलालाई दोस्रो दर्जाको मानिएको छ । त्यसैले नेतृत्वमा महिलालाई स्वीकार गरिएको छैन । के महिला प्रधानमन्त्री बन्न सक्षम छैनन् र ?’
हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महिलालाई टिकट वितरणमा वञ्चित गरिँदै आएको पनि उनले आरोप लगाइन् । गुरुङले भनिन्, ‘नेतृत्वमा कोही महिला पुग्नु राम्रो कुरा हो । तर एकजना नेतृत्वमा पुगेर मात्र पुग्दैन । यसका निम्ति राज्यले नै प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
लैंगिक समानताका हिसाबले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको हुनुपर्ने उनले बताइन् । साथै संघ र प्रदेश सरकारमा पनि एक तिहाइ महिलाको नेतृत्वदायी भूमिका हुनुपर्ने उनको धारणा छ । महिलाका निम्ति शिक्षा, क्षमता विस्तार र आर्थिक लगानी जरुरी भएको गुरुङले औंल्याइन् । स्थानीय सरकारलाई न्यायिक अधिकार त दिइए पनि पीडित महिलाले आफ्ना कुरा राख्ने ठाउँ बनाउन नसकेको उनको कथन छ ।

आज ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ को नाराका साथ देशभरि मनाइँदै छ ।



प्रतिक्रिया दिनुहोस्