Logo

ग्रीसमा रेल दुर्घटनाको विरोधमा ५० हजारभन्दा बढी प्रदर्शन



एजेन्सी । देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन्। साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हडताल गरेका छन्।

गत फेब्रुअरी २८ मा एक मालबाहक रेल र अधिकांश विद्यार्थी सवार यात्रुबाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो भने घटनापछि आक्रोशित आफन्तजन र सर्वसाधारणले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्।

घटनामा घाइते अन्य १४ जना अस्पतालमा उपचाररत रहेका छन्।

एथेन्सका प्रदर्शनकारीहरूले यो दुर्घटना होइन, यो अपराध हो’ र त्यो रेलमा हामीमध्ये कोही पनि हुन सक्छौं’ लेखिएको साइनबोर्डहरूसहित प्रदर्शनमा सहभागी बनेका छन्।

दुर्घटनाको विरोधमा देशभरका ५३ हजार भन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको प्रहरीले जनाएको छ।

एथेन्सका प्रदर्शनकारी ५४ वर्षीय सिभिल इञ्जिनियर निकी सिउताले एएफपीसँग भने, “म मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न मात्र होइन, आफ्नो रिस र निराशा व्यक्त गर्न पनि आएको हुँ ।” “यो सरकार जिम्मेवारीबाट हट्नुपर्छ,” उनले भने।

एथेन्समा करिब ३० हजार, ग्रीसको दोस्रो सहर थेसालोनिकीमा १५ हजार र पश्चिमी बन्दरगाह शहर पत्रासमा १० हजार प्रदर्शनकारी रहेको ग्रीसका प्रहरी प्रवक्ताले एएफपीलाई बताए। रासस



प्रतिक्रिया दिनुहोस्