Logo

शान्तिप्रक्रियामा माओवादीले असहयोग गरेको छैनः कांग्रेस प्रवक्ता



काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत शान्तिप्रक्रियालाई निष्कर्षमा पुर् याउन आफ्नो पार्टी सदैव सहयोगी रहँदै आएको बताएका छन् ।
‘संक्रमणकालीन न्यायका लागि ढिला भएकै हो । तर शान्तिप्रक्रियालाई टुंगोमा पुर् याउन नेपाली कांग्रेस सदैव सहयोगी हुँदै आएको छ । अदालतले सत्य निरुपण तथा मेलमिलाप ऐन परिमार्जन गर्नुपर्ने आदेश दिएपछि दलीय सहमति जुटाउन कांग्रेस नेतृत्वको सरकारले सम्पूर्ण कोसिस गरेको थियो । एमालेकै तर्फबाट संसदीय समितिमा लानुपर्छ सकिन्छ, भ्याइन्छ भन्ने कुरा आयो । तर संसदमा ल्याउन भ्याएन । अब त्यसलाई पूर्णता दिएर चाँडोभन्दा चाँडो संसदबाट विधेयक पारित गर्नुपर्छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गरी शान्तिप्रक्रियाका बाँकी विषयलाई द्रुतगतिमा टुंगो लगाउनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. महतले भने ।
प्रवक्ता डा. महतले न्यायालयले संक्रमणकालीन न्यायका निम्ति केही समय धैर्य राख्नुपर्ने पनि औंल्याए । उनले भने, ‘बृहत् शान्ति सम्झौतामा बेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले नै संक्रमणकालीन न्याय टुंगो लगाउने भनिएको छ । धेरैजसोमध्ये क्षतिपूर्ति, सजाय, कन्फेसन आदि काम त्यसमै हुन्छन् । उसले मिलायन नसकेका गम्भीर प्रकृतिको विषय अदालतमा पनि पुग्छन् । न्यायालयले केही समय धैर्यता राख्ने हो भने सबै विषय टुंगो लागिहाल्छ ।’ साथै उनले शान्तिप्रक्रियामा माओवादीले असहयोग नगरेको दाबी गरे ।
आज को बन्ला त राष्ट्रपति भन्ने पत्रकार धमलाको प्रश्नमा डा. महतले भने, ‘राष्ट्रपतिमा कडा प्रतिस्पर्धा छैन, सामान्य प्रतिस्पर्धा मात्र छ । परिणाम के आउँछ, सबैलाई थाहा छ । आठ दलीय गठबन्धन एक छ । सांसदहरुले विवेकको मतदान गर्छन् । यसबारे निर्वाचन परिणामपछि विवेचना गरौंला ।’
कांग्रेस प्रवक्ता डा. महतले नेविसंघ विवाद नगरीकन स्ववियु निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘जिल्ला जिल्लामा असन्तुष्टि देखिएको छ । असन्तुष्टिलाई अनावश्यक रुपमा नबढाईकन संगठनको हित हेरेर काम गर्नुपर्छ । निकट स्ववियु निर्वाचनलाई ध्यानमा राखेर एकीकृत रुपमा काम गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्