Logo

राजेन्द्र लिङ्देनलाई धमलाको प्रश्न– राष्ट्रपति निर्वाचनमा राप्रपा किन सहभागी भएन ?



काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबाट निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह हुन नसक्ने बताएका छन् ।
‘राष्ट्रपति निर्वाचनमा मतदान गर्न सैद्धान्तिक र संरचनात्मक हिसाबले पनि मिलेन । हाम्रा शुभेच्छुकको धारणा पनि मतदान गर्न हुन्न भन्ने रह्यो । राष्ट्रपति दुवै उम्मेदवार आजको दिनसम्म पनि सक्रिय राजनीतिमा हुनुहुन्छ । उम्मेदवारहरुले त्यस संस्थालाई निष्पक्ष र अभिभावकीय नेतृत्व दिन सक्नुहोला भनेर विश्वास गर्ने आधार पनि भएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
लिङ्देनले राप्रपाको निर्णय अनपेक्षित नरहेको पनि बताए । उनले भने, ‘व्यक्तिगत रुपमा दुवै नेतासँग हाम्रो राम्रो सम्बन्ध छ । दुवै सुयोग्य पात्र हुनुहन्छ । तर राप्रपाले सदैव सोच, विचारका साथ निर्णय गर्दै आएको छ । संविधानले राष्ट्रपतिको जुन भूमिका परिकल्पना गरेको छ, उहाँहरुबाट त्यो प्राप्त गर्न सकिन्न भन्ने निष्कर्षमा पुगेर हामीले मतदान नगर्ने निर्णय गरेका हौं ।’ कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगर्ने अनुमान आफूले नगरेको पनि उनले बताए ।
राप्रपाले विगतका दुई राष्ट्रपति निर्वाचनमा त मतदान गरेको थियो नि भन्ने पत्रकार धमलाको प्रश्नमा लिङ्देनले भने, ‘जिम्मेवार पार्टीले आफ्नो विचार र सिद्धान्तका साथै शुभेच्छुकको धारणाका आधारमा निर्णय लिन्छ । अघिल्ला राष्ट्रपतिहरुको अनुभवबाट शिक्षा लिँदै हामीले पछिल्लो निर्णय गरेका हौं । कुनै पनि पार्टीले राष्ट्रपति निर्वाचनमा मात्र होइन, प्रधानमन्त्री निर्वाचनमा पनि तटस्थ बस्न सक्छ, मतदान नगर्न सक्छ । असंलग्न रहन सक्छ ।’
राप्रपामा तपाईं अल्पमतमा परेको र पार्टी फुटनजिक पुगेको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा लिङ्देनले थपे, ‘यस्तो हावा कुरा कहाँबाट आउँछ ? राप्रपामा फुटको कुनै सम्भावना छैन । राप्रपा फुटाउँछु भनेर कसैले कल्पनासम्म गर्न सक्ने अवस्था छैन । राप्रपामा जुनसुकै विषयमा पनि छलफल र बहस हुन्छ । राष्ट्रपतिमा मतदान नगर्ने निर्णयमा कसैको फरक मत छैन ।’
कुनै पनि बहानामा द्वन्द्वपीडितलाई न्याय पाउने विषयमा विमुख बनाउन नमिल्ने पनि लिङ्देनले औंल्याए । उनले भने, ‘द्वन्द्वका दुई पक्षमा मात्र थिएनन्, द्वन्द्वका कारण ज्यान गुमाएका, घाइते भएका, धनसम्पत्ति र घरबार गुमाएका लाखौं नागरिक छन् । तिनका सन्तान, पतिपत्नी, बाबुआमाले न्याय पाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्