Logo

विद्यादेवी भण्डारीले दलीय मोह छाड्न सक्नुभएन, अब राष्ट्रपतिले महाराजाहरूको धङधङी छाड्नुपर्छः कांग्रेस नेता सावद



काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद एनपी सावदले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो संवैधानिक भूमिका अनुसार लोकतान्त्रिक आचरण पालना गर्ने पूर्ण विश्वास व्यक्त गरेका छन् ।
‘नेपालको राष्ट्रपति आलंकारिक पोजिसनमा छ । डा. रामवरण यादव राष्ट्रपति हुँदा खासै विवाद भएनन् । तर महिला र अनुभवी भए पनि विद्यादेवी भण्डारीले कार्यकारी भूमिका निर्वाह गर्न खोज्नुभयो । दलीय मोह छाड्न सक्नुभएन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल निकै अनुभवी र परिपक्व नेता भएकाले संविधानको आशय बमोजिम पदीय मर्यादा अनुकूल काम गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सावदले भने ।
नेता सावदले राष्ट्रपतिका रुपमा पौडेलको कार्यकाल सफल हुने दाबी पनि गरे । उनले भने, ‘उहाँ नेविसंघका १० संस्थापकमध्ये एक, प्रजातान्त्रिक आन्दोलनमा योगदानका साथै नयाँ विचार र चिन्तन दिने नेता हो । पार्टी समाजवादी चिन्तनभन्दा बाहिर नजाओस् भन्नेमा उहाँको जहिल्यै चिन्ता रह्यो । पटक पटक मन्त्री, सभामुख संसदीय दलको नेता, पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति रहेको नेता भएकाले उहाँ अनुभव, विचार, योग्यता र त्यागका हिसाबले समकालीन राजनीतिमा अब्बल हुनुहुन्छ । उहाँको कार्यकाल पूर्ण सफल हुनेमा किञ्चित शंका छैन ।’
राष्ट्रपतिले पुराना महाराजाहरुको धङधङी छाड्नुपर्ने पनि उनले औंल्याए । सावदले भने, ‘राष्ट्रपतिलाई हामीले राजाकै प्रतिरुपमा स्थापना गरेका होइनौं । राजा र राष्ट्रपति फरक हुन् । बेलायतमा प्रधानमन्त्री र मन्त्रीलाई सम्माननीय र माननीय भनिन्छ । अमेरिका मिस्टर प्रेसिडेन्ट, मिस्टर मिनिस्टर भनिन्छ । बराबरीको सिद्धान्तलाई त्यहाँको जीवनले महसुस गरेको छ । अब हामीले पनि राष्ट्रपति संस्थालाई प्रजातान्त्रिक संस्कृतिमा ढाल्नुपर्छ ।
उपराष्ट्रपतिमा जसपाका नेता एवं सांसद रामसहायप्रसाद यादवको विजय निश्चित भएको उनले बताए । सावदले भने, उहाँ सांसद, पूर्वमन्त्री, मिलनसार र भद्र व्यक्ति हुनुहुन्छ । समावेशिताको सिद्धान्त अनुसार सत्तारुढ गठबन्धनले उहाँलाई साझा उम्मेदवारका रुपमा अघि बढाएको हो । उहाँ हरेक किसिमले जिम्मेवार र उपयुक्त उम्मेदवार हुनुहुन्छ ।
उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अनि सरकार विस्तारको प्रक्रिया प्रारम्भ हुने पनि उनले औंल्याए । नेता सावदले शान्तिप्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सरकार र संसदले उच्च प्राथमिकतामा दिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्